बराहक्षेत्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Newslaya Home

बराहक्षेत्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु

आइतबार २६, बैशाख २०७८

इटहरी । बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित सप्तकोशी बहुमुखी क्याम्पसमा रहेको आइसोलेसनमा आज (आइतबार) एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आइसोलेसन इञ्चार्ज तथा नगर स्वास्थ्य शाखाको अहेब प्रमोद यादवका अनुसार बराहक्षेत्र १० का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएका उनी आज बिहान साढे ११ बजे आइसोलेसनमा भर्ना भएको अहेब यादवले बताए । दमका बिरामी समेत रहेका उनलाई आइसोलेसनमा अक्सिजन दिएर राखिएको अवस्थामा साँझ ७ बजेर २० मिनेटमा उनको मृत्यु भएको हो ।

मृतकको स्वास्थ्य अवस्थालाई उद्धृत गर्दै अहेब यादवले जानकारी दिएअनुसार संखुवासभाबाट आएका मृतक बस्नेतले वैशाख २० गते धनकुटामा पीसीआर गरेका थिए ।

एक जना संक्रमितलाई धरान रेफर गरेपछि सप्तकोशी बहुमुखी क्याम्पसको आइसोलेसनमा अब तीन जना मात्र संक्रमित रहेको बराहक्षेत्र नगरपालिकाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।