छालाको क्यान्सर भएका इटहरीका सुरजद्वारा आर्थिक सहयोगको अपिल

Newslaya Home

छालाको क्यान्सर भएका इटहरीका सुरजद्वारा आर्थिक सहयोगको अपिल

–रोजिना खतिवडा
आइतबार २६, बैशाख २०७८

इटहरी । इटहरी वडा नं. ११ बुढिखोलास्थित भागलपुरमा बसोबास गर्दै आएका २८ वर्षीय सुरज मगर हिँडडुल गर्न सक्दैनन् । उनको शरिर भरी घाउ नै घाउ छ । कोठामा पस्दा रगत र पिपले लत्पतिएको घाउ ह्वास्स गनाउँछ ।

परालले बारेको सानो घरभित्र रहेको एउटा खाटमा सुतेर दिन बिताइरहेका छन् उनी । श्रीमति चन्द्रकला मगरले बिगत एक वर्षदेखि स्याहार गरिरहेकी छिन् ।

सुरजको शरिरमा पहिले सानो सानो घाउका फोका निस्कीएको र पछि त्यहीँ घाउ बढ्दै ठुलो हुने, पाक्ने र शरिर भरि फैलिने गरेको श्रीमति चन्द्रकलाले बताइन् । सुरज र चन्द्रकलाको दुई छोरी, एउटी ९ वर्षकी र अर्की ७ महिने छन् । काखे बालकलाई चेपेर श्रीमानको हेरचाह गर्न चन्द्रकलालाई निकै गाह्रो छ ।

उनीहरुको आर्थीक अवस्था पनि निकै कमजोर रहेको छ । सानो घर त छ तर घरमा खाना पकाउनको लागि ग्यास चुलोसमेत छैन । उनीहरु छिमेकीले दिएको खानाको भरमा बाँचीरहेका छन् । कहिले नजिकैको माइतीमा गएर खानेकुरा ल्याउँछिन् चन्द्रकला । झन् उपचार त टाढाको कुरा ।

अस्पताल पुर्याउनैसमेत उनीहरुलाई गाह्रो छ । केही समय अघि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा १० दिन बेड भर्ना गरेर राखेकोमा केही सुधार आएन । अस्पतालले उनको समस्यालाई क्यान्सर भनेको छ । अस्पताल बसाइबाट पार नलागेपछि अहिले आयुर्वेदिक औषधि सुरु गरेका छन् । त्यो औषधी किन्न पनि आर्थिक अभाव छ ।

समयमा नै उपचार गर्न पाए श्रीमानलाई बचाउन सकिन्छ कि भन्ने आशमा चन्द्रकलाले सहयोगको लागि अनुरोध गरेकी छिन् । पहिले सामान्य मजदुरी गरेर दुई छाक टार्दै आएका मगर परिवारलाई अहिले एक छाक टार्न पनि निकै मुस्किल छ । घरको मूल व्यक्ति नै थला परेपछि परिवारको विचल्ली भएको छ ।

छिमेकी सजना तामाङले पनि मगर परिवारका लागि आर्थीक सहयोग जुटाइदिन सबैसँग आग्रह गर्दै वडाले उनीहरुलाई केही पनि सहयोग नगरेको बताएकी छिन् । उनले भनिन्, ‘हामी वडामा सहयोग माग्नको लागि पुगेका थियौँ तर उहाँहरुले मगर परिवारलाई यहाँको बासिन्दा नै हैन हामी केही सहयोग गर्न सक्दैनौ भन्नुभयो ।’

धेरै पटक वडा कार्यालय धाएपछि वडाका कार्यकारी सचिव रवि सुवेदीले बनाइदिएको सहयोग पत्रकै आधारमा गाउँगाउँमा सहयोग उठाउन गएको उनले बताइन् ।

केही समय सहयोग संकलनका लागि हिँडे पनि कारोना भाइरसको संक्रमणका कारण भएको लकडाउनले गर्दा सहयोग ठप्प छ ।

यता वडा सचिव सुवेदीले भने आफूहरुसँग कुनैपनि आर्थीक सहयोग नमागेको बताएका छन् । उनले भने, ‘उहाँहरुले हामी सँग कुनै सहयोग माग्नु भएको छैन, वडामा आउनु भएको थियो अनि मैले पत्र बनाएर पठाइदिएको हुँ ।’

पिडित परिवारले सहयोग मागेमा आफूले व्यक्तिगत रुपमै सहयोग गर्ने उनले प्रतिवद्दता जनाएका छन् ।