प्रदेश १ का सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउन कांग्रेसको माग

Newslaya Home

प्रदेश १ का सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउन कांग्रेसको माग

आइतबार २६, बैशाख २०७८

विराटनगर । प्रदेश १ का सबै सरकारी अस्पतालहरुलाई कोभिड–१९ अस्पताल बनाउन नेपाली कांग्रेस प्रदेश संसदीय दलले माग गरेको छ ।

आइतबार प्रदेश सभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहीनताका कारण अहिले भयाभह अवस्था आएको बताउँदै जनतालाई मृत्यु हुनबाट जोगाउन तुरुन्त सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा परिणत गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले अहिलसम्म ६ ठूला अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० बेड कोरोनाका लागि छुट्याएको भन्दै सरकारले झुठो प्रचार गरेको कार्कीको अरोप छ । उनले भने, ‘धरानमा ३० वटा वेड मात्र सञ्चालनमा छन् ।’

अहिले प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि संक्रमितहरुले भरिएको छ । भएका अस्पतालसमेत पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसक्नु सरकारको लाचारी पन भएको कांग्रेसको आरोप छ ।

प्रदेश १ मा बैशाख १७ गते ३३.३० प्रतिशतमा रहेको कोरोना संक्रमण दर बैशाख २५ गतेसम्म वृद्धि भएर ४९.२३ प्रतिशतमा पुगेको छ । कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै प्रमुख सचेतक कार्कीले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताए । महामारी सरकारका लागी पैसा कमाउने मेलो भएको उनको दाबी छ ।