आहा त्यो पल !

Newslaya Home

आहा त्यो पल !

- गोपाल तिम्सिना
आइतबार २६, बैशाख २०७८

दिनभरिको कामले लखतरान भएर घर पुगेर कपडा फेर्न लागेको मात्र के थिए त्यतिकैमा छोरीले मोबाइलमा “फेरी कहाँ आँउछ र घुमेर यो बालापनको उमेर” गीत गुन्जाउदै नजिकिदै आइन् । त्यो गीत त धेरै पटक सुनेको हो तर, पनि खै किन हो त्यो दिन त्यस गीतले मेरो मन छोयो । अनि मलाई पनि मेरो बालापनको याद आयो सानामा भाडाकुटी र चिँ..मुसी..चिँ.. खेलिरहेको त्यो बालापन सम्झदा फेरि पनि त्यही फर्किएर आए हुन्थियो जस्तो लाग्यो । जसरी आमा, बुबा, काका, फूपू, हजुरबुबा, हजुरआमाले मेरो हात समातेर ताते–ताते भन्दै हिँड्न सिकाउनु भयो, ठीक त्यसरी नै बालापनमा फेरि पनि रमाउन पाए कस्तो हुन्थेयो होल भन्ने अनेक कुरा मनमा उब्जन थले ।

मानिसको स्थान र परिवेशअनुसार सबैको बालापन आ(आफ्नै तरिकाले बितेको हुन्छ। कसैको बालापन खाने, खेल्‍ने तथा विद्‍यालय जाने आउने गरेर बितेको हुन्‍छ भने कसैको अलिक फरक ढंगबाट बित्दछ । बालापन बिताएका ठाउँहरु सम्झदा ती ठाउँहरुले बालापनको थुप्रै घटनाहरू याद दिलाउँदा रहेछन् । काठको गाडी बनाएर हात्तिछाप चप्पलको चक्का हालेर आँगनमा कुदाएको, पानीको पाइपको गाडी बनाएर कुदाएको, बाको जुरफ चोरेर जुरफको भकुन्डो बनाएर खेलेको, खेत, कान्ला, खोल्साका ढुङगाहरू हाम्रा आफ्ना साथी आफन्त्त हुन्थे । ढुङ्गाकै पाहुनाहरू हुन्थे ।

कति आमाको मजेत्रो ओडेर ढुङ्गासँगै सुतिन्थ्यो। केराको पात बटारेर पे‘।पे‘। बजाउँदै शहनाईको जस्तो आवाज निकालिन्थ्यो, बाँसको प्टायासको फिर्फिरे बनएर उडाएको हिजो जस्तो लाग्छ । बच्चामा नबोली नबोली इसाराका भरमा खेलेका तथा कसैलाई न भन्ने सर्तमा उपद्रो गर्ने ती साथिहरु कता पुगे ? घर पर्तिरको गल्लिमा बिकाश फैलाएर गार्डेन

बनाउने सपना पनि बालापन सकिएसँगै सपना पनि अधुरौ रह्यो ।

न कुनै दायित्व, न कुनै बोझ, न कुनै बन्धन, न कुनै पिर, न कुनै चिन्ता रोइदिएको भरमा त्यो समयमा पुरा हुन नसक्ने आवश्यक्ता पनि केही हप्ताको अन्तरमा भए पनि चाहनाहरु पूरा हुन्थे आहा ! क्या सुन्दर थियो त्यो बेला । अहिलेका भुराभुरीहरुलाई के थाहा ? निलो पेन्ट सेतो सट स्कुलको नयाँ पोसाक लगाएर दसैँमा टीका लगाउन गाउँ भरी हिड्नुको मज्जा ! उ बेलाँ दसैँमा बाले हात्ति छाप चप्पल किनिदिए जति खुशी अहिले आफैँले कमाएर किनेको ब्रान्डेड जुत्तामा पनि मिल्दैन ।

अहिलेका केटाकेटी कति भाग्यमानी, स्कुल छुट्टि हुने बित्तिकै आमा स्कुलमै नभए पनि बाटोसम्म लिन पुग्छिन्, तर हामी स्कुलबाट घर पुगेपछि आमा खोज्दै खेत बारीमा पुग्थ्यौं । बिहानको बासिभात खाएर हँसिया र नाम्लो बोकेर घाँस काट्न लागिन्थ्यो तर अहिले त्यो कुरा सुनाउँदा छोराछोरीले परापुर्ब कालको दन्तेकथा सुने झै सुन्न थालिसकेका छन् । अहिले पनि आफुले सानोमा पढेको स्कुल अगाडी जब पुग्छु फेरि उहि सेतो रङको सर्ट अनि गाढा निलो रङको पेन्ट लगाएर “श्री मान गम्भीर” गाउन मन लाग्छ छ ।

बिष्णु भक्त सरको हात समाएर रमाइला कथा सुन्दै बिद्यालय जान थलेको हेजो जस्तो लाग्छ । रमाइलो त त्यो बेला लाग्थियो, बैशाख लागे पछी नयाँ नेपाली किताब स्कुलबाट ल्याएर नेपाली किताबमा भएको कथा र कविता कराइ कराइ सबैले सुन्ने गरि गाउँ नै हल्लिने गरि पढीन्थ्यो । त्यति मात्र कहाँ हो र सानो छदा रेडियो भित्र को छन् कसरी बोल्छन् यत्रो सानु चिजमा मानिस कसरी बसेका होलान भनेर बुवाको समाचार सुन्ने रेडियो त कति फुटाईयोरभाचियो तर आजकाल त्यही कुरा सम्झिदा हाँसो लाग्छ।

सानो हाते लेन्सले घाममा देखाएर साथीको हात पोलिदिदा आफु नासाको बैज्ञानीक झै लाग्थ्यो। स्कुलबाट भागेर ह्यात्रुङ झरनामा साथिहरुसँग नुहाउन जादा, स्कुल बिदा भएपछि गाउँमा फलफूल चोर्दै हिड्दा, बिदाको दिन मालेलुङ्को जंगलमा साथिहरुसँग गाई बस्तु हेर्दै खोरियामा निगुरो टिपेको, हिगुवा खोलामा घाँस काट्न गएको, सग्रान्तिको दिन गाउँ भरिका मानिस भएर थाक्ले बेशिको उकालो हुँदै आठराइ बजार भर्न गएको पल एउटा साच्चिकै रमाइलो पल थियो ।

अहिले बढ्दो शहरीकरणले गर्दा हिजोआज बालबालिकाले खेल्‍ने विभिन्न‍ खेलमैदान, उद्यान तथा खुला स्थानहरू लोप हुँदै गएका छन् साथै सूचना प्रविधिको तिब्र बिकाससँगै मोबाइल र इन्टरनेट जविनको एउटा अभिन्न अंग बनेको छ । पहिला हाम्रो समयमा ससाना बालबालिकालाई घर भित्र बसाउन गाह्रो हुन्थियो भने अहिले घर बाहिर निकाल्न गह्रौ पर्ने अबस्था आएको छ । बालबालिकालाई भुलाउन भिडियो देखाउने र गेम खेल्न लगाउने चलन बढेको छ ।

हामिले फर्सिको लहरा तथा सलाइको बट्टामा धागो बाधेर आफै फोनको आबिस्कार गर्थ्यौ, घरमै अनेक किसिमका सामान काल्पनिक रुपम निर्माण गरिन्थे । साच्चै नै त्यो पलको स्मरण गरेर लेख्नेनै हो भने एउटा ठुलै किताब नै बन्ने छ ।

अहिले भने आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेलाउन दिने अभिभावकको संख्या धेरै छ। विद्यालय जाने उमेरका अधिकांश बालबालिका फेसबुक चलाउन र भिडियो गेम खेल्न खप्पिस भइसकेका हुन्छन् । दिनरात मोबाइलमा फेसबुक र गेम हेर्दा बालबालिकाको सृजनशीलता न्यून भएको छ र हामीले भोगेको जस्तो मीठो बालापनको अनुभूति अहिलेका बालबालिकाले गर्न पाएका छैनन् ।