कोरोनाको कहर : मनोवल बढाउने १० उपाय

Newslaya Home

कोरोनाको कहर : मनोवल बढाउने १० उपाय

–गोपाल ढकाल, मनोविद्
सोमबार २०, बैशाख २०७८

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेको छ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ ।

तर लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउछ । कोरोनाको संक्रमणलाई जित्न रोग–प्रतिरोधात्मक क्षमता मजबुत हुनु पर्छ ।

कोरोनाको संक्रमणसँग लड्न शरिरमा रोग प्रतिरोधात्मक शक्ति आवस्यक पर्छ भने मानसिक वा मनोबैज्ञानिक रुपमा मनोवल (आत्मवल वा आत्मशक्ति) उच्च हुनुपर्छ ।

शरिरिक रुपमा स्वस्थ्य हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन संतुलित खानपिन, ब्यायाम, प्रयाप्त आराम र निन्द्रा जस्ता कुरामा आवस्यक पर्छ ।

जसरी व्यक्तिको आ–आफ्नै शारीरिक क्षमता हुन्छ, त्यसैगरी प्रत्येक व्यक्तिको आ–आफ्नै मानसिक क्षमता हुन्छ जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ ।

कुनै कार्यमा सफलता पाउन, कुनै घटना वा परिस्थितिको सामाना गर्न व्यक्तिमा भएको मनोवलले महत्त्वपूर्ण भुमिका खेलिरहेको हुन्छ। आत्मबल उच्च भएको व्यक्तिमा आत्मविस्वास पनि उच्च नै हुने गर्दछ ।

हामीले सुन्दै आएका छौँ । कोरोनाको संक्रमणलार्इ जित्न मनोवल उच्च बनाउनु पर्छ । कोरोनालाई जितेकाहरुको पनि एउटै भनाइ छ “मनोबल उच्च भए कोरोना भाईरसलाई जित्न सकिदो रहेछ ।” कोरोनाको भ्याक्सिन भनेकै मनोवल हो । तर आत्मबल वा मनोबल कसरी उच्च बनाउने? मनोबल बढाउछु भन्दा आफै बढ्ने पनि होइन । के गर्यो भने आत्मबल उच्च हुन्छ ?

यस्ता छन् मनोबल बढाउने व्यावहारिक उपायहरू !

१. सुरक्षाका उपाय अपनाउनु पर्छः

कोरोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइसाथ अवलम्बन गर्नुपर्छ । भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने । यसो गर्दा संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफु सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

२. कोरोनासँग लड्न मानसिक रुपमा तयार हुनुपर्छः

य‍ो प्रकृति विपत्ति भएकोले हाम्रो हातमा छैन । यो समस्या विश्वको नै साझा समस्या हो । यसकारण यसलाई स्विकार गर्नुको बिकल्प छैन । कथम कदाचित संक्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनु पर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ । यसले हामीलाई संक्रमणसँग जुध्न सहज बनाउछ । कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

३. परिस्थिति प्रति सकारात्मक धारणः

समय सधै एकैनास हुदैन । अहिलेको समय कठिन भए पनि एक दिन अबस्य टरेर जान्छ ।

भागवत गितामा भने झैँ ‘जे हुन्छ राम्रो कै लागि हुन्छ ।’ त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोवल उच्च राख्दा आत्मविश्वास र धौर्यता दुवै बढेर जान्छ । यस्तो बेला आत्तिनु हुन्न भनेर सोच बनाउनु पर्छ।

कोर‍ोनाको संक्रमण भएपनि मरिन्छ नै भन्ने हुदैन । कोरोनाको संक्रमणका कारण हुने मुत्यदर अत्यन्त न्युन छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनु पर्छ ।

रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४. हौसला तथा प्रेरणाः

विपत्तको समयमा हौसला र प्रेरणा अति आबस्यक हुन्छ । घरपरिवार , आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मियताले विपत्तिसँग जुझ्न उर्जाको काम गर्छ । विपत्तिको समयमा आफुलाई साथ दिने , आफ्नो भावना बुझ्ने तथा हौसला दिने ब्यक्तिहरुसँग आफ्नो मनका भावनाहरु बाँड्ने गर्नुपर्छ ।

विपत्तको वेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ । आफूले आफैलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तैः ‘म ठिक छु , स्बस्थ छु , ठिक हुँदै गएकोछु’ जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्म सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सवल पक्षहरु लेख्ने, मनन वा उजागर गर्नेले पनि आत्मबल बढ्छ ।

५. मनोसामाजिक सहयोगः

विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समय सम्मको मनोबैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले व्यक्तिको आत्मबल र आत्मविस्वासलाई कमजोर बनाउन सक्छ । यस्तो अवस्थामा भौतिक सहयोग मात्र प्रयाप्त हुदैन । मनोवैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिक रुपमा स्वस्थ व्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६. तनावको व्यावस्थापनः

तनावले शारीरिक तथा मानसिक रुपमा सिथिल बनाउछ । विपत्ति समयमा तनाव बढ्ने नै भयो । नियमित रुपमा योग–ध्यान , व्यायम गर्ने, गहिरो श्वासप्रश्वासको अभ्यासहरु गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, प्रयाप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ । जसले तनाव कम गर्न मद्दत पुर्‍याउँछ।

ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

७. आनन्दायक क्रियाकलापः

कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलाहरुमा धेरै भन्दा धेरै समय बिताउनु पर्छ । जस्तो आफूलाई मन पर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगित सुन्ने, लेख्ने, आफ्नो आस्था विस्वास अनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता विषयमा सकृय हुनाले एक त समयको सदुपयोग हुने भयो अर्कोतर्फ दैनिकीलाई सहज बनाउन सकियो । आफूले दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने गर्नु पर्छ । नत्र खाली दिमाग सैतानको घर हुन जान्छ ।

आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको विकास हुनुका साथै आत्मबल समेत बढ्छ।

८. सकारात्मक जीवनशैलीः

कोरोनाको संक्रमण र निषेधाज्ञाले गर्दा अहिले व्यक्तिको जिवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएकोछ । तनावको बेला व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ ।

सकारात्मक जीवन शैली अपनाएको खण्डमा व्यक्ति चाडै पूर्व अवस्थामा फर्कन सक्छ । आत्मबल पहिला जस्तै उच्च हुन्छ । तर नकारात्मक जीवन शैलीले भने समस्या जटिल हुदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ । हाम्रो दैनिक जीवनशैली र। क्रियाकलापहरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९. सत्यतथ्य सुचना र जानकारीः

विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ । तनावको वेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमि आउँछ । हामी भावनामा बग्न सक्छौं । यस्तो अवस्थामा हामीले तथ्य परक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ । विषय वस्तु र घटनालाई हेर्ने दृष्टिकोण सही बनाउनुपर्छ ।

अहिले अवस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समचारहरु बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुदैन । यस्ता समचारहरु दिनमा १–२ पटक भन्दा बढि नहेरेकै राम्रो हो । दुखद समचारहरु हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा , छट्पटी बढेर आउँछ । मन दुखी हुन्छ । तनाब बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

१०. सीप , तालिम र शिक्षाः

कुनै पनि विषयमा आवस्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अवस्य बढ्छ नै, कोरोनाको संक्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व हेरचाहका विषयमा जानकारी तथा सरसफाइ लगायत अन्य विषयको तालिमले आत्मबल बढाउन मदत गर्छ ।

यस्तै मनोसेवा सम्बन्धि कुनै जिज्ञासा र सुझाव भए मार्क नेपालले फोन मार्फत निशुल्क मनोपरामर्श सेवाक‍ो व्यवस्था गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

(लेखक मनोविद् हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न छन् ।)