कोरोना महामारी बढेपछि रोकियो जनगणना

Newslaya Home

कोरोना महामारी बढेपछि रोकियो जनगणना

सोमबार २०, बैशाख २०७८

काठमाडौ । तयारी गरिएको अन्तीम समयमा आएर राष्ट्रिय जनगणना स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यही २५ जेठदेखि ८ असारसम्म देशभर जनगणना गर्ने कार्यक्रम थियो । सोको लागि ठाउँ ठाउँमा गणकहरुको लागि तालिम सञ्चालन भइरहेकोमा पछिल्लो कोरोना महामारीलाई विचार गर्दै सबै गतिविधि रोकिएको हो । नागरिकको जिउज्यान र स्वास्थ्यभन्दा अन्य विषय ठूलो नभएकाले पनि त्यसैलाई ध्यानमा राखेर स्थगित गर्नुपरेको उनको भनाइ छ ।

सहज हुनेबित्तिकै जगनणना गर्ने विभागको तयारी छ । अहिले जनगणना गरी ०७९ सालसम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० सालभित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी थियो ।

पछिल्लो ६० वर्षमा पहिलोपटक जनगणना रोकिएको हो । सबैभन्दा पछि २००८ सालमा हुनुपर्ने जनगणना २००९ साल र २०११ सालमा दुई चरणमा भएको थियो । त्यसपछि ०१८ सालदेखि हरेक १० वर्षमा नियमित रुपमा जनगणना हुँदै आएको छ ।