वीपी प्रतिष्ठानमा भरिए आईसीयूका बेड, जटिल संक्रमित बढे धान्न नसकिने

Newslaya Home

वीपी प्रतिष्ठानमा भरिए आईसीयूका बेड, जटिल संक्रमित बढे धान्न नसकिने

बुधबार १५, बैशाख २०७८

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड अस्पतालका इन्टेनसिभ केयर युनिट (आईसीयू) र हाइडिपेन्डेन्सी युनिट (एचडीयू) का बेड लगभग भरिएका छन् ।

कोभिड अस्पतालतर्फ आईसीयूमा १०, एचडीयूमा २५ र जनरलतर्फ ६५ बेड रहेको प्रतिष्ठानमा यही गतिमा कोरोनाका जटिल संक्रमितको संख्या बढेमा अस्पतालले धान्न नसक्ने कोभिड अस्पताल हेर्दै आएका फोक्सो तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. दिव्यराज मिश्रले बताए ।

जटिल भएपछि आएकाहरूलाई सोझै आईसीयू र एचडीयूमा भर्ना गरिने भएकाले यसपालि अघिल्लो लहरको भन्दा चाँडै बेड भरिएको डा. मिश्रले जानकारी दिए ।

प्रदेश १ र वाग्मती प्रदेशका केही जिल्लाबाट समेत जटिल संक्रमितलाई बीपी प्रतिष्ठानमा रेफर गरिँदै आएको छ । तर आईसीयू र एचडीयू बेड भएका यहाँका कतिपय सरकारी र निजी अस्पतालले समेत बीपीमा रेफर गरिदिँदा चाप बढेको प्रतिष्ठानका एक चिकित्सकले बताए ।

तत्कालका लागि कम्तिमा थप १० आईसीयू र २५ भन्दा बढी एचडीयू बेड विस्तार गर्नुपर्ने देखिएको छ । हजार जनालाई एकसाथ आपूर्ति गर्न पुग्ने प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट रहेको हुँदा प्रतिष्ठानमा बिरामीका लागि अक्सिजनको अभाव नभएको उनले जानकारी दिए ।

तत्कालका लागि प्रतिष्ठानको अर्को विभागमा रहेकामध्ये केही भेन्टिलेटर र आईसीयू बेड भने थप्न सकिने तर जटिल अवस्थामा आउने संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय प्रदेश र केन्द्र सरकारले दिने अनुदानमा भर पर्ने प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले बताए ।

आईसीयू र एचडीयूका बेड भरिए पनि आइसोलेसन भने खालीजस्तै रहेको अस्पतालले जनाएको छ ।