सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने

Newslaya Home

सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने

मङ्गलबार १४, बैशाख २०७८

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर फैलिएपछि सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो।

बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ । अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।

यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ । बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।