कोरोनाको दोस्रो लहर घातक : गम्भीर बिरामीलाई बचाउनै मुस्किल

Newslaya Home

कोरोनाको दोस्रो लहर घातक : गम्भीर बिरामीलाई बचाउनै मुस्किल

आइतबार १२, बैशाख २०७८

काठमाडौ । कोरोना संक्रमणको दोस्रो लहर निकै घातक देखिएको चिकित्सकहरुले बताएका छन् । नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

अस्पतालमा भर्ना भएका बिरामीहरुको मृत्यु भइरहेको उनले बताए । गम्भीर लक्षण देखिएर आइसियु र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउनै गाह्रो भएको उनले बताए ।

पहिलो लहरको कोरोनाभन्दा दोस्रो लहरको पुरै फरक भएकाले संक्रमणबाट बच्न आम नागरिक, सबै सरकारी निकायलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको आदेश कडाइपूर्वक पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । सरकारले आदेश गरेको मापदण्ड पालना गर्नेगराउने कुरामा अहिले पनि फितलो हुनु, सीमा नाका खुला हुनु, कन्ट्याक्ट ट्रेसिङ फितलो हुनुले संक्रमण भयावह हुने स्थिति देखिएको उनीहरुको भनाई छ ।

गत २४ घन्टामा नेपालमा संक्रमण दरमा वृद्धि भई ३० प्रतिशत पुगेको छ ।