नब्याएको बाच्छीले दूध दिन थालेपछि ...

Newslaya Home

नब्याएको बाच्छीले दूध दिन थालेपछि ...

शुक्रबार १०, बैशाख २०७८

झापा । झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै दूध दिन थालेको छ ।

नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले चार दिनदेखि दूध दिन थालेपछि गाउँले अचम्ममा परेका छन् ।

पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भने, ‘एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो, थुनसमेत ब्याएको गाईको जस्तो पघ्रेर आएपछि हामीले दुहुन थाल्यौँ ।’

अहिले दैनिक एक पटक दुहुने गरेको र दूध अलि पातलो र पहेँलो रहेको पनि उनले बताए । बिगौती दूध भएकाले घरमा कसैले पनि नखाएको दूध बाख्र्राका पाठालाई दिने गरिएको छ ।