नेपालमा कोरोनाको युके भेरियन्ट, साना बालबालिकाको लागि बढी जोखिमपूर्ण

Newslaya Home

नेपालमा कोरोनाको युके भेरियन्ट, साना बालबालिकाको लागि बढी जोखिमपूर्ण

सोमबार ३०, चैत २०७७

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर देखिन थालेको छ । यो लहर समुदायमा देखिसकेको भन्दै विज्ञहरुले सर्वसाधारणलाई सचेत गराइरहेका छन् । मानिसहरुले स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्दा संक्रमण फेरि उकालो लागेको उनीहरुको भनाई छ ।

पछिल्लो समय संक्रमण पुष्टि भएकाहरु कोरोनाको नयाँ प्रजाति यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल नेपालमा कम उमेरका व्यक्तिलाई संक्रमण बढेको र उनीहरु यूके भेरियन्टबाट संक्रमित भएको पाइएको छ । नयाँ भेरियन्ट फैलिएको शंका गरिरहँदा विद्यालय जाने तथा कम उमेरका व्यक्तिलाई संक्रमण हुन थालेको छ ।

संक्रमितको उपचार धेरै हुने शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ४७ प्रतिशत ५० वर्षभन्दा कम उमेरका रहेको बताए । उहाँले पहिलो भन्दा दोस्रो छाल बढी खतरनाक रहेको भन्दै यही गतिमा अस्पताल भर्ना हुने दर बढेमा संक्रमितको मृत्यु हुने दर पनि बढ्न सक्ने चेतावनी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेका परीक्षणमा डेढ महिनायता यूके भेयिन्टसँग मिल्दो संक्रमित भेटिरहेको उनले बताए ।

कोरोना भाइरस कुन प्रजातिको हो भनेर जीन सिक्वन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यक उपकरण तथा रसायन नेपाल ल्याइसकिएको र केही दिनमा नै परीक्षण सुरु हुने बताइएको छ ।

कम उमेरका व्यक्तिमा संक्रमण बढ्न थालेपछि विद्यालय तथा शिक्षण संस्था खोल्ने या बन्द गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ ।