‘शंकास्पद दुर्घटना’मा मृतकका परिवारलाई मिल्न दबाब

Newslaya Home

‘शंकास्पद दुर्घटना’मा मृतकका परिवारलाई मिल्न दबाब

आइतबार २९, चैत २०७७

इटहरी । खोलामा डुबेको अवस्थामा फेला परेका सुन्दरहरैंचा ५ का सुरज चौधरीको दुर्घटना नभइ हत्या भएको परिवारले बताउँदै आएको छ । परिवारले हत्या आरोपितसँग मिल्न दबाब आएको गुनासोसमेत गरेको छ ।

गत चैत ५ गते खोलामा डुबेको अवस्थामा फेला परेका २५ वर्षिय चौधरीको हत्या उनकै साथी राजेश चौधरीले गरेको पीडित परिवारको शंका छ ।

स्थानीय जनप्रतिनिधि तथा प्रहरी प्रशासनले समेत पैसा लिएर मिल्न दबाब दिएको मृतककी पत्नी उषा चौधरीले बताइन् । 

अघिल्लो रात राजेशले सुरजलाई मोटरसाइकलमा राखेर लगेको र भोलिपल्ट बिहानै उनको शव स्थानीय तेलिया खोलामा फेला परेको थियो । खोलामाथिको पुलमा राजेशको मोटरसाइकल भेटिएको थियो भने फरार राजेशलाई प्रहरीले दुई दिनपछि पक्राउ गरेको थियो । 

बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार सुरजको मृत्यु दुर्घटनाकै कारण भएको हो । उनकाअनुसार लाइसेन्स पनि नभएको अवस्थामा दुर्घटना भएपछि राजेश डराएर भागेको देखिएको हो ।

यता परिवारले भने हत्या शंका गरेको छ । ‘उनीहरु धनी मान्छे हो, छुटीहाल्छ बरु मिल्नु भनेर भन्छन्,’ उनले भनिन् । 

प्रहरी निरिक्षक ढकालले भने सवारी ज्यान मुद्धाअनुसार पाउनुपर्ने क्षतीपूर्ती पाउने तर भोलि हत्या नठहरिए त्यो पनि नपाउने अवस्था रहेको बताए । उनले परिवारले ज्यान मुद्धा पनि नहालेको बताए ।