छिमेकीको कुटाइबाट झापामा एक दलितको मृत्यु

Newslaya Home

छिमेकीको कुटाइबाट झापामा एक दलितको मृत्यु

शनिबार २८, चैत २०७७

झापा । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक दलितको मृत्यु भएको छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई–५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताइन् । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए । ‘सानो जातको भनेर हामीलाई सधैँ गाली गर्ने, हेप्ने गर्थे,’ उनले भनिन्, ‘मोहन घिमिरे सोमबार मातेर आएका थिए । बुबा सुतिरहेको ठाउँमा आएर कुट्न खोजे । हामीले मिलाएर पठायौँ । पछि बुबा आफूलाई हेपेको विषयमा कुरा गर्न जानुभयो । त्यसपछि उहाँलाई कुटे । बुबाले प्रतिकार गर्न सक्नुभएन ।’

पति बलबहादुरको ज्यान गएपछि पत्नी मुना ठूलो सन्तापमा छिन् । उनी दुवै आँखा देख्दिनन् । घिमिरे परिवारले विगतदेखि नै आफूहरूमाथि जातीय विभेद गर्दै आएको उनले बताइन् ।

बलबहादुरको शव अझै परिवारले बुझेको छैन । उनको शव बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा छ । घटना सार्वजनिक भएपछि प्रहरीले मोहनलाई पक्राउ गरेको छ ।