पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषि राई विजयी

Newslaya Home

पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषि राई विजयी

शुक्रबार २७, चैत २०७७

इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषि राई विजयी भएका छन् । सम्पन्न महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका साझा उम्मेद्वार राईले प्रेस चौतारी ओली समुहका सन्तोष काफ्लेलाई पराजित गर्दै विजयी भएका हुन् ।

राईले काफ्लेलाई झण्डै दोब्बर मतान्तरले पराजित गरेका हुन् । विजयी राईले १२३ मत पाउँदा बर्तमान कार्य समितिका उपाध्यक्ष रहेका काफ्लेले ६५ मत मात्र पाए ।

निर्वाचित राई महासंघको एक कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । राईले आफ्नो कार्यकालमा महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्ने, पत्रकारहरुको व्यवसायिक दक्षता अभिबृद्धिका लागि सीपमुलक तालिमको व्यवस्था गर्ने, जिल्लामा कार्यरत पत्रकार तथा उनीहरुको परिवारका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गर्ने तथा साना लगानीका सञ्चार गृहको प्रवद्र्धन गर्ने लगायतका एजेण्डाहरु अगाडी सारेका छन् ।

सुनसरी महासंघमा अध्यक्षकालागि चार जनाको उम्मेद्वारी थियो । युनियनकै दुई जना सचिन पोखरेल र सुविद गुरागाईंले बागी उम्मेद्वारी दिएका थिए । उनीहरुले क्रमशः ४५ र १० मत पाए ।

उपाध्यक्षमा युनियन गठबन्धनका गणेश निरौलाले १४२ मत पाउँदा महिला उपाध्यक्षमा उषाकिरण भट्टराईले १०० मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी मनिता चाम्लिङले ५३ मत प्राप्त गरिन् । महिला उपाध्यक्ष पदकालागि ४ जनाको उम्मेद्वारी थियो । अन्य २ जना सन्जु राई र रञ्जना पौडेलले क्रमशः ४५ र ४३ मत पाए ।

सुनसरी महासंघमा सचिब पदमा तीन जनाको उम्मेद्वारी परेकोमा ध्रुब ढकाल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिनेश गजमेरलाई ८४ मतले पराजित गरे । ढकालले १४८ मत पाउँदा गजमेरले ६४ मत मात्र पाए । सचिब पदमै बागी उम्मेद्वारी दिएका भरतराज शर्मा – गोपालले ३१ मत प्राप्त गरे ।

यता सह–सचिबमा तिर्थ काकी र विकल रेग्मीले बराबर मत पाए । उनीहरु दुवैले समान ११५ मत पाएका छन् । सह–सचिब समावेशीमा भोला श्रेष्ठले १४२ मत ल्याउँदै विजयी भए । कोषाध्यक्षमा अजित झा १३१ मतले विजयी भए ।

महासंघको सदस्यहरुमा संगम विष्ट, सुस्मिता राई, विबेक रेग्मी, दिपेन्द्र कुमार यादव, निश्चल शर्मा, विरेन्द्र शाह, शान्ता निरौला, शुक्रान्त राई, देबिका चाम्लिङ, पारस चाम्लिङ, मिकाइल आलम, सुविन विश्वकर्मा, आरबी कटुवाल विजयी भएका छन् । सदस्य मध्ये मिकाइल आलम निर्विरोध विजयी भएका हुन् ।

बुधबार भएको मतदानमा सुनसरीमा २६२ मतदाता मध्ये २४८ जनाले मतदान गरेका थिए ।

No description available.