ओली पक्षका नेताको नियन्त्रणमा इटहरीको पार्टी कार्यालय, नेकपा हटाएर राखियो एमालेको बोर्ड

Newslaya Home

ओली पक्षका नेताको नियन्त्रणमा इटहरीको पार्टी कार्यालय, नेकपा हटाएर राखियो एमालेको बोर्ड

सोमबार २४, फागुन २०७७

इटहरी । सुनसरीको इटहरीस्थित नेकपा पार्टी कार्यालय ओली निकट नेकपा नगर कमिटिले नियन्त्रणमा लिएको छ । राष्ट्रिय युवा संघ इटहरी नगर कमिटिले चाबी लगाएर बोर्डसमेत फेरेको छ । सोमबार दिउँसो पुगेका कार्यकर्ताहरुले नेकपाको बोर्डको ठाउँमा नेकपा एमालेको बोर्ड राखेका छन् ।

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र छुट्टीएपछि इटहरीस्थित हटीया लाइनमा रहेको भवनमा नेकपाको बोर्ड हटाइ पुनःएमालेकै राखिएको हो ।

युवा संघ नगर कमिटि अध्यक्ष कमल दाहालले एक विज्ञप्ती जारी गर्दै आजबाट सम्पुर्ण कार्यालयको जिम्मेवारी राष्ट्रिय युवा संघले लिएको जानकारी दिए । साथै वडा नम्बर ६ को वडा कार्यालय पनि आजैबाट सञ्चालनमा आएको जानकारी गराइएको छ ।

नेकपा विघटनसँगै इटहरीको उक्त भवनमा ओलीपक्षका नेकपा नेता, कार्यकर्ताहरु गएका थिएनन् । प्रचण्ड–माधव पक्षका अध्यक्ष, सचिव भएकोले ओली पक्ष कार्यालयबाट टाढिएको थियो । तर सर्वोच्चले एमाले ब्युँताएपछि आफूहरुले कार्यालय सञ्चालन गर्न थालेको ओली पक्षका नेकपाका नगर अध्यक्ष याम सुब्बाले जानकारी दिए ।

अदालतले नेकपा खारेज गरेसंगै केपि ओली समर्थकहरू खुशि देखिएका छन । इटहरीमा पार्टीको बोर्ड परिवर्तन भएसंगै अब जिल्लाका स्थानीय तहमा रहेका पार्टी कार्यालयहरूको पनि बोर्ड परिवर्तन गरिने एमालेका नेताहरूले जनाएका छन् ।

मोरङको विराटनगर ११ पाञ्चालीमा पनि नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । उनिहरूले सो स्थानमा बोर्ड मात्र नभइ प्रधानमन्त्री ओलीको प्रतिमा समेत बनाएर राखेका छन् ।