नेपाल अतिकम विकसित देशबाट माथि उठेपछि नाफा घाटा के ?

Newslaya Home

नेपाल अतिकम विकसित देशबाट माथि उठेपछि नाफा घाटा के ?

आइतबार १६, फागुन २०७७

काठमाडौ । नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई पाँच वर्षको तयारी समय दिएर अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ।

नेपाललाई अझै पाँच वर्ष अतिकम विकसित मुलुककै सुविधा उपलव्ध हुने छ ।

स्तरोन्नतिका तीन सूचकमध्ये नेपाल दुईवटामा उत्तीर्ण भए पनि प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा भने थ्रेसहोल्डभन्दा मुनि नै छ । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय एक हजार दुई सय ३० अमेरिकी डलर हुनुपर्छ । तर, हालै प्रकाशित मानव विकास सूचकांकअनुसार नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार २७ अमेरिकी डलर मात्रै छ।

मानव सम्पत्ति सूचकांक कुल सयमा ६६ अंकभन्दा बढी हुनुपर्छ भने आर्थिक जोखिम सूचकांक कुल सयमा ३२ अंकभन्दा तल रहनुपर्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसार मानव सम्पत्ति सूचकांकमा नेपालको ७२ दशमलव एक अंक छ। त्यस्तै, आर्थिक जोखिम सूचकांकमा नेपालको मान २५ दशमलव ४ अंक रहेको छ ।

स्तरोन्नतिपछि के फाइदा, के घाटा ?
अतिकम विकसितबाट विकासशील मुलुक बन्दा मुलुकको प्रतिष्ठा उच्च हुन्छ । त्यसबाहेक मुलुकको ऋण लिने क्षमता बढ्ने र विदेशी लगानी थप आकर्षित हुने बताइन्छ ।

अतिकम विकसित मुलुकका रूपमा रहँदा गरिब भएका नाताले विश्वका विभिन्न मुलुक तथा संस्थाले सुविधा दिने गर्छन् । यस्तो सुविधा खोसिन सक्छ ।

त्यस्तै, अतिकम विकसित मुलुकका रूपमा नेपालले विश्व व्यापार संगठन (डब्लुटिओ)बाट पनि नेपालले सुविधाका अतिरिक्त सहयोग पनि पाउने गरेको छ, जुन कटौती हुन सक्छ ।