केराबारीमा ट्याक्टर दुर्घटना हुँदा इटहरीका राईको मृत्यु

Newslaya Home

केराबारीमा ट्याक्टर दुर्घटना हुँदा इटहरीका राईको मृत्यु

शनिबार १५, फागुन २०७७

विराटनगर । मोरङको केराबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार(आज) बिहान भएको ट्याक्टर दुर्घटनामा इटहरीका गजेन्द्र राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तीव्रगतिमा रहेको को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरका सह–चालक इटहरी–३ का १८ वर्षीय राईको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टरले किचेर घाइते भएका राईको धरानस्थित वीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसैगरि, ट्याक्टरमा रहेका इटहरीकै २२ वर्षीय राजु थापा भने घाइते भएका छन्। थापाको पनि गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको छ।

बेलबारी प्रहरीका अनुसार ट्याक्टरका चालक इटहरी–३ का २७ वर्षीय राम दर्जीलाई भने आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।