प्रवीन बास्तोला मृत्यु प्रकरणः छ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

Newslaya Home

प्रवीन बास्तोला मृत्यु प्रकरणः छ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

बिहीबार १३, फागुन २०७७

विराटनगर । मोरङको उर्लाबारीका प्रवीन बास्तोला मृत्यु प्रकरणमा प्रहरीले ६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्न भएको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको जानकारी दिएका छन् । पक्राउ परेका दुई जनाको अदालतमा बयान गराइएको एसपी खड्काले बताए ।

पुस ५ गते उर्लाबारी–५ बस्ने ३१ वर्षीय बास्तोलाको शव गोदाबरी अस्पतालमा भेटिएको थियो । परिवारले उनको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएका थिए । प्रहरीका अनुसार उर्लाबारी ४ का रमेश गिरीको घरमा डेरा बस्ने रिकेश शिवा भन्ने मेहरमान दर्जीले बास्तोलालाई टेलिफोन गरेर बोलाएको भोलिपल्ट उनको शव अस्पतालमा भेटिएको थियो ।

बास्तोला शिवाको डेरामा सुत्न गएकोमा राति नै मृत्यु भएकोमा परिवारले भने त्यसको जानकारी पुस ५ गते बिहानमात्र पाएको बताएका छन् ।

प्रहरीका अनुसार उर्लाबारी–६ का राजेश रणपहेली, दीपेश पौडेल, सुदीप परियार, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

राई र दर्जी पक्राउ परिसकेका छन । बास्तोला मृत्यु सम्बन्धी अनुसन्धानको फायल (मिसिल) मा तस्बिर फरक परेको पाइएपछि बास्तोलाकी बहिनी सदीक्षा, आफन्त र स्थानीयले त्यसको विरोधमा उर्लाबारी प्रहरी कार्यालय घेराउ गरेका थिए ।

बुधबारमात्र जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी घटनामा प्राप्त उपलब्धीबारे जानकारी गराएको थियो । मृत्यु शङ्कास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । पक्राउ परेका उनी माघ २ गते सरकारी वकिलको कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका थिए ।

प्रहरीले पुनः मुद्दा दर्ता गराई अघि बढाएको हो । उर्लाबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहितलाई अनुसन्धानमा तानिएको छ । बास्तोलाको शव धरानस्थित बीपी प्रतिष्ठानमा शल्यपरीक्षण गर्दा निसास्सिएर मृत्यु भएको भन्ने रिर्पोट आएको प्रहरीको भनाइ छ ।