उर्लाबारी घटना : न्याय माग्दै मृतक दाइकी बहिनी सडकमा, साहसको सर्वत्र प्रसंसा

Newslaya Home

उर्लाबारी घटना : न्याय माग्दै मृतक दाइकी बहिनी सडकमा, साहसको सर्वत्र प्रसंसा

मङ्गलबार ११, फागुन २०७७

उर्लाबारी । सदिक्षा बाँस्तोला पाइलटकी विद्यार्थी हुन् । अमेरिकामा बसेर अध्ययन गरिरहेकी बाँस्तोला आजभोलि सामाजिक सञ्जालमा छाएकी छिन् । आफ्नो दाइको मृत्यु नभइ हत्या भएको र प्रहरीले सही अनुसन्धान नगरेको भन्दै उनले फेसबुक लाइभ गरेपछि उनी सामाजिक सञ्जालमा छाएकी हुन् ।

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीस्थित इन्स्पेक्टरको कार्यकक्षबाटै फेसबुक लाइभ गर्दै इन्स्पेक्टरलाई कारवाहीको माग उनले गरेकी थिइन् । आइतबार सदिक्षाले उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले आफ्ना मृतक दाजुको सम्बन्धमा नक्कली मिसिल तयार गरेको देखेपछि तत्काल सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताएकी छिन् । प्रहरीले नै सामान्य मिसिल तयार गरी हत्यारालाई बचाउन लागिपरेको उनको आरोप छ ।

उनले सामाजिक सञ्जाल तथा युट्युबहरुमार्फत् आवाज उठाएपछि उक्त घटनासँगै सदिक्षा पनि रातारात भाइरल बनेकी हुन् । सामाजिक सञ्जालमा उनको आँटको प्रसंसा गरिएको छ ।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचारहरु आउन थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राई नेतृत्वको छानविन समिति बनाएको छ । साथै प्रहरीले कुनै गल्ती गरे कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

घटना यस्तो थियो
गत पुस ४ मा उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बाँस्तोला साथीको घर पुगेका थिए । दिउँसोदेखि नै रक्सी खाएर साथीहरुसँग बसेका उनी बिहान अचेत भेटिएपछि स्थानीय गोदावरी अस्पाल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोष्टमार्टममा ‘निसास्सिएर मृत्यु’ भएको रिपोर्ट आएको थियो भने भिसेरा परीक्षण गर्दा पनि विष खाएको अथवा खुवाएको पुष्टि नभएको प्रहरीको भनाई छ ।

तर यता सदिक्षाले भने कोठामै दाईको मृत्यु भएको र प्रहरीले खबरै नगरी अस्पताल पुर्याएपछि मात्र जानकारी दिएको आरोप लगाएकी छिन् । उनले घटना भएको राती आफ्नो दाईको मोबाइलबाट सँगै रक्सी खाएका साथीको मोबाइलमा ब्यालेन्स ट्रान्सफर भएको र सोही रात दाईको मृत्यु भएको बताएकी छिन् । उनले प्रहरीले अनुसन्धान हुँदैछ मात्रै भनेको, तर वास्तविक अनुसन्धान नगरेको, सँगै बसेर रक्सी खाएका साथीहरुमाथि शंका गर्न सकिने अवस्थामा प्रहरीले वास्ता नगरेको लगायतका आरोप लगाएकी छिन् ।

घटनापछि प्रविणका बुबा प्रेमप्रसाद बाँस्तोलाले छोरालाई मारेको आरोपसहित प्रहरीमा किटानी जाहेरी दिए । पुस ९ मा इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रविनका साथीहरु विरुद्ध ‘ज्यानसम्बन्धी कसुर’ मुद्दा दर्ता गरियो । ३१ वर्षीय राजेश रणपहेली सहित ६ जनालाई प्रहरीले पक्रियो । ‘ज्यान सम्बन्धी कसुर’मा प्रहरीले अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझायो । माघ २ मा सरकारी वकिल कार्यालय मोरङले मुद्दा नचलाउने निर्णय गर्दै ६ जना आरोपीलाई ‘जिम्मा जमानी’मा छाड्न प्रहरीलाई निर्देशन दिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अनुसन्धानबाट हत्या भएको पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले बताएका छन् । थप प्रमाण आएको अवस्थामा मुद्दा अगाडि बढाउने गरी सरकारी वकिल कार्यालयले छाड्ने निर्णय गरेपछि आफूले आरोपीहरुलाई छाडेको बताए ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङकाअनुसार थप अनुसन्धान गर्न सुझाव दिइएको थियो । पोष्टमार्टम गर्ने डाक्टरले पनि मृत्युको यकिन कारण खुलाउन नसकेको हुनाले कमजोर मुद्दा दर्ता नगरेको तर केही दिनमा सो मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानमा संलग्नहरूमाथि पनि छानविन सुरु गरेको छ । डीएसपी मान बहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरुमाथि छानविन थालेको हो ।

उर्लाबारी प्रहरीले आइतबार दोस्रोपटक सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । मृतकको बहिनीले आरोप लगाएजस्तो ‘अनुसन्धान प्रतिवेदनमा कुनै तलमाथि नगरेको’ इन्सपेक्टर उद्धव पोखरेलले बताएका छन् ।