मोबाइल सेवामा ‘नम्बर पोर्टेबिलिटी’ ल्याइँदै, गुणस्तर बढ्ने, महसुल घट्ने

Newslaya Home

मोबाइल सेवामा ‘नम्बर पोर्टेबिलिटी’ ल्याइँदै, गुणस्तर बढ्ने, महसुल घट्ने

सोमबार १०, फागुन २०७७

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवामा प्रतिस्पर्धा ल्याउन ‘नम्बर पोर्टेबिलिटी’ सिस्टम लागू गर्ने भएको छ ।

ग्राहकले एउटा मोबाइल नम्बर लिएपछि आफूलाई चित्त बुझेको जुनसुकै सेवा प्रदायकको सेवामा स्वीच हुनसक्ने अवस्था नै नम्बर पोर्टेबिलिटी हो ।

यसरी स्वीच हुँदा कम शुल्कमा गुणस्तरीय सेवा दिने सेवा प्रदायकको नेटवर्क ट्राफिक उच्च हुन्छ भने न्यून गुणस्तर तथा महंँगो सेवा प्रदायकबाट ग्राहकहरू स्वतः बाहिरिन्छन् । प्राधिकरणले नम्बर पोर्टेबिलिटी लागू गर्न सकिने अवस्था जनाएको छ ।

दूरसञ्चार सेवाको पहुँचमा कुनै समस्या नभए पनि कम्तीमा तीनवटा सेवाप्रदायकबीच प्रतिस्पर्धा भएमा अति प्रभावकारी हुनेछ । यो सिस्टम लागू गर्नुको मुख्य उद्देश्य नै सेवाको गुणस्तर बढाउने र कम शुल्कमा ग्राहकलाई सेवा दिने हो ।

चालू वर्षमा यसको सिस्टम निर्माण गर्ने तथा नीतिगत व्यवस्था गरी आउने आर्थिक वर्षदेखि कार्यान्वयनको चरणमा जान सकिने बताइएको छ ।

सेवाप्रदायकहरूले गर्नुपर्ने सिस्टम अपग्रेड, लाइसेन्स प्रोसेस, ग्राहकमा जनचेतना, नियामक निकायको तयारीलगायतका क्षेत्रमा काम गर्नुपर्ने भएकाले केही समय लाग्नेछ ।

विकसित देशमा धेरै अगाडिदेखि यो सिस्टमा लागू भइसकेको अवस्थामा छिमेकी मुलुक भारतमा पनि यस्तो सुविधा छ । सेवाको गुणस्तर, पहुँच र शुल्कका आधारमा ग्राहकले एउटै नम्बरबाट सेवा छनोट गर्न सक्छन् ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ३ करोड ८८ लाख भ्वाइस सेवाका ग्राहक छन् । यो संख्या भनेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको देशको कुल जनसंख्याको १३० प्रतिशत पहुँच हो । यसमा मोबाइल सेवाको पहुँच १२७ प्रतिशत छ भने बाँकी ल्याण्डलाइनको हिस्सा छ । नम्बर पोर्टेबिलिटी लागू हुँदा ग्राहकले आफूलाई चाहेअनुसार कम्पनी रोजेर महसुल र सेवाको गुणस्तर छनोट गर्न सक्छन् । ग्राहकले भने चाहेअनुसार सेवा रोज्न पाउने भएकोे दोहोरो मोबाइल बोक्नु पर्दैन ।