अग्रजद्वय लक्ष्मण चौधरी एवम् प्रेम ब. कार्कीलाई अभिवादन

Newslaya Home

अग्रजद्वय लक्ष्मण चौधरी एवम् प्रेम ब. कार्कीलाई अभिवादन

– ऋतु आसीक
बुधबार ०५, फागुन २०७७

पूर्वी क्षेत्रमा लक्ष्मण चौधरी वाक्पटुता, भाषण गर्ने कला तथा त्यसताका राजा महेन्द्रको सवारी भएको बेला उहाँले देखाउनुभएको आँट र हिम्मतको कुरा बूढापाकाहरु भन्ने गर्थे । कुरा के भएको रहेछ भने राजा महेन्द्रको सम्मान अभिवादन कार्यव्रmममा लक्ष्मण चौधरीले स्थानीय समस्या बाँध पैनीको शायद राजालाई अवगत गराउन खोज्नुभएको थियो ।

त्यसबेला होमबहादुर श्रेष्ठ र दिलबहादुर श्रेष्ठले बोल्नलाई रोकेछन् । लक्ष्मण चौधरीले ठूलो स्वरमा कराएर भन्नुभएछ, ‘सरकारको सवारी भएको बेला (ठूलोबाबु सानोबाबुतर्फ इङ्गित गर्दै) आफ्ना स्थानीय समस्या राख्न रोकिन्छ हाम्रो समस्या कसले सुन्ने’ भनेपछि राजा महेन्द्रबाट लक्ष्मण चौधरीलाई समस्या पोख्न भनेपछि उहाँका कुरा राजाबाट ध्यानपूर्वक सुनेर त्यसको कार्यान्वयनका लागि समेत निर्देशन भएको कुरा त्यसताका इटहरीमा चर्चा उपचर्चा पछिसम्म रहिरह्यो ।

आदरणीय लक्ष्मण चौधरी निम्न पिछडिएको वर्गमा जन्मनुभएको थियो । उहाँको राजनैतिक सरसङ्गत र स्वअध्ययनले गर्दा उहाँ आँटिलो र वर्गको भेद गर्ने र त्यसलाई कसरी चिर्ने भन्ने राम्ररी ज्ञान हासिल गर्नु भएको थियो । मेरो बालसुलभ हृदयमा उहाँको ईमानदारी स्पष्टवक्ता, हक्की स्वभाव, हामीप्रति जसरी प्रेम वात्सल्य देर्शाउनुहुन्थ्यो म अहिले सम्झन सक्छु र कल्पना गर्छु त्यो उहाँको निस्वार्थ वर्गीय प्रेम थियो । वर्गीय वात्सल्य थियो ।

एकपटक लक्ष्मण चौधरीले भन्नुभएको कुरा अहिले पनि सम्झिरहन्छु, “कम्युनिष्ट भनेको बूढीखोलाको पानीजस्तै स्वच्छ र निर्मल हुन्छ । जीवनभरि हामीले असल कम्युनिष्ट कसरी बन्ने भन्ने कुराको हेक्का राखिरहनु पर्छ । असल कामको समर्थन र नराम्रो कामको विरोध गर्नुपर्छ ।”

तत्कालीन इटहरीका युवाहरुको जीवनमा लक्ष्मण चौधरी र प्रेमबहादुर कार्कीको स्नेहमयी वात्सल्यको गन्ध थियो । ती वात्सल्य र संरक्षणको गन्ध त्यहाँ पाइन्थ्यो । प्रेमबहादुर कार्कीको त्यो पुरानो काठको घर– जो बाहिरबाट आएकाहरुका निम्ति धर्मशाला र भोजन पस्किने घर हुन्थ्यो, त्यो मनचिन्ते घर थियो । जे जस्तो अभाव भए पनि त्यहाँबाट टर्ने गर्दथ्यो । जहाँ तत्कालीन हामीजस्ताहरु प्रशिक्षित हुँदै इटहरीको भावी संरचना र निर्माणका कार्यक्रमहरुमा सहभागी हुँदै अगाडि बढ्यौ । हामी अगाडि बढिरह्यौ ?

आत्मबोध
जीवनको यस मोडमा आइपुगेपछि के आत्मज्ञान भयो भने कुनै पनि व्यक्तिको व्यक्तित्व विकासको लागि तत्कालीन वातावरण परिवेशले उसलाई उठाएको हुन्छ । सामूहिक प्रयत्न र प्रयासबाट आत्मालोचना स्वीकार्दै त्यसलाई सच्याउँदै अगाडि बढेको खण्डमा सबैको व्यक्तितव निर्माण हुन सक्छ । आजको परिवेश एकलव्य हिसाबले आफैं मात्र हूँ भन्ने धारणाले कोही अगाडि बढ्न सक्तैन । इटहरीका लक्ष्मण चौधरी र प्रेमबहादुर कार्कीद्वारा प्रशिक्षित युवाहरुको यसबेला ठूलो जमात हुनुपर्ने ? चरित्र र मनोबल उठेको युवा पीढी हुनपर्ने ? साँच्चै भन्ने हो भने उहाँद्वारा प्रशिक्षित उहाँका विश्वासपात्रहरु आफ्नै–आफ्नै तालमा बरालिएका छन् । कोही क्षणिक स्वार्थमा कम्युनिष्टको खोल ओढेर घ्यू महले तृप्त भएका छन् । कोही कतै कम्युनिष्ट ब्राण्डको दुरुपयोग गरेर आफ्नो स्वार्थको खेतीमा मललजल गरिरहेका छन् । कतिलाई जीवनको तिक्तताले छोएको छ । जीवनको अन्तिम बिसाउनी चौतारीमा थला परेका छन् ।

लक्ष्मण चौधरी एवम् प्रेमबहादुर कार्कीलाई विर्सिदिने ?
इटहरीले यस क्षेत्रको संरक्षण र यसका पूर्वाधारका सर्जकहरुको सम्मानमा न त कुनै कार्यव्रmम तथा उहाँहरुलाई सम्झिने नै कार्य भएको छ । अग्रजहरुको देनलाई सधैँ यस किसिमबाट नकार्दै लाने हो भने भविष्यमा हाम्रा पीढीहरु केका निम्ति मुलुकलाई अग्रगतितिर लान्छन् ?

हाम्रा अग्रजहरुको सम्मानमा कतै सम्झनाका लागि कतै अनुकरणका लागि केही चिनोको निर्माणतर्फ आजका पीढीले सोच्नुपर्छ । निर्माणका लागि प्रेरित गरिनुपर्छ । यसो गरिएको खण्डमा उहाँका प्रेरणादायी सत्कार्यलाई सम्झिने एउटा बहाना हुँदैन र ? त्यतातिर पनि इटहरीवासीको दृष्टि पुग्नुपर्छ ।

कम्युनिष्टको गढ
कम्युनिष्टको गढ तत्कालीन लक्ष्मण चौधरी र प्रेमबहादुर कार्कीको नेतृत्वमा त्यहाँका युवाहरु समेटिएका थिए । ती समेटिने क्रममा सङ्गीत, साहित्य तथा सामाजिक उत्थानको परिवेश निकै माथि उकालो लागेको थियो । यहाँका युवावर्गलाई हिमकला मन्दिरका सर्जक चतुर्भुज आशावादीबाट तालिम दिइएको थियो । ती संरचना निर्माणमा स्थानीय जनताले खुल्ला हृदयले तन, मन र धनले सहयोग गरेका छन् । ती सहयोग झांगिएका छन् । ती सहयोग लहलहाएका छन् ।

त्यसताका निम्नस्तरका जनताले भोगेको पीडा तथा जनताको निम्ति स्थानीय जालझेलका विरुद्धमा जेहाद छेडिएको थियो । ती जेहादमा जनता विजयी भएका छन् । ती जनताका विजयगाथाहरु तत्कालीन क्षेत्रमा सन्देशको रुपमा प्रचारित भएर वासिन्दाहरु एकताको सूत्रमा आबद्ध भएका छन् । अन्यायको प्रतिरोधमा आफूलाई उठाएका छन् । ती वासिन्दाको हृदयमा लक्ष्मण चौधरी र प्रेमबहादुर कार्कीका अनुयायीहरु स्थानीय निर्वाचनमा किन विजयी हुन्छन् ? त्यहाँका बाहुल्यता रहेको चौधरी समाज किन नतमस्तक छ, वामपन्थी आन्दोलनप्रति ? इटहरीलाई किन कम्युनिष्टको गढ भनिन्छ ?

त्यसका लागि उल्लेखित महारथीहरुले आफ्नो भविष्य त्यहाँ रोपेका थिए । समय नै त्यहाँ रोपिएको थियो । जुनसुकैले ती कवच धारण गर्छ ऊ विजय हुन्छ । उनीहरुको वलिदानी गाथा त्यहाँ छ । ती महारथीहरुको विचार सन्देशलाई निरन्तरता दिइरहने प्रण हुन्छ गढ–गढ कै रुपमा रुपान्तरित भइरहन्छ । यो ऐतिहासिक सत्य हो ।

ब्याजको नाममा साँवा चप्काउने केही अनुयायी
लक्ष्मण चौधरी एवम् प्रेमबहादुर कार्कीद्वारा प्रशिक्षित कतिपय सन्दिग्ध चरित्रका औँलामा गनिने (मित्रहरु जो नाम लिंदा घृणा हुन्छ) समाजका पृष्ठभागलाई ओगटेर शुभलाभका खेती गरिरहेका छन् ।

धेरैजसो समाजमा सम्मानित जीवन बिताइरहेका छन् । अनुयायीको भोटो लाउने आर्थिक भ्रष्टाचारको दलदलमा समाजमा आफ्ना नातागोतालाई अवैध सम्पत्तिको जोहो गराउनमा लिप्त भएका छन् । आफ्नै सहकर्मीलाई सिध्याउने तथा मानमर्दन गर्नेतर्फ सुन्नमा तथा व्यवहारमा त्यस्तै पाइएको छ । जे भए पनि कम्युनिष्टको भोटो लाएर शुभलाभको खेती गर्ने जोसुकैको पर्दाफाश स्थानीय युवाले गर्नुपर्छ ।

यो निश्चित रुपले तय भएको कुरा हो कि इतिहास निर्माणकालमा केही कम्युनिष्टको खोल ओढेर व्यक्तिगत लाभको खेती गर्दै ओराली लाग्छन् र पतित हुन्छ्न । त्यसका पछि कोही सती जाँदैन । इतिहासमा गद्दारी गर्नेहरुको पङ्क्ति पनि छ । जो आफूलाई कूडाकरकटमा परिणत गर्न चाहन्छ त्यसका लागि थपडी बजाउनु सिवाय के गर्न सक्छौ ?

आदरणीय अग्रज लक्ष्मण चौधरीले भन्नुभएको थियो, “कम्युनिष्ट भनेको त्यो बूढीखोलाको पानी जस्तै स्वच्छ र निर्मल हुन्छ ।” हामी जो उहाँबाट प्रशिक्षित अनुयायीहरु छौँ, आफूलाई त्यसैमा निरन्तर लागिरहने प्रयास गरौँ । हामी फेरि जनतामा समाहित भइरहन प्रयत्न गरौँ । हामी निष्कलंक भएर बाँचौं । हामी ईमानदार भएर बाँचौं । हामी पनि बूढीखोलाको पानी जस्तै स्वच्छ भएर बगिरहूँ ।

अग्रजद्वय लक्ष्मण चौधरी एवम् सहयोद्धा प्रेम ब. कार्कीलाई हार्दिक अभिवादन ।

(यो लेख काठमाडौंबाट प्रकाशित हुने तेस्रो सहस्राब्दी २०६० मा प्रकाशित भएको थियो । यसलाई ऋतु आसीकद्वारा प्रकाशित पुस्तक अग्निपुञ्जमा जेठ २०६३ मा समावेश गरिएको जानकारी गराउँछु ।)

1 प्रतिकृयाहरू प्राप्त
  • कृष्णप्रसाद सापकोटालेख्नुहुन्छ
  • |
  • शुक्रबार ०७, फागुन २०७७
अहिले सबै चोरेर खान थाले इतिहासका युग पुरूषलाई बिर्सन थाले । मलाई पनि थाहा छ लक्ष्मण चौधरी र प्रेम कार्की एक असल सच्चा कम्युनिस्ट थिए तर आजका नेता भनाउदाले इतिहास पोलेर खाए दु:ख लाग्छ !! दुबै आदरणीय नेता तथा युग पुरूषलाई मेरो सलाम ।