वीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा सेनालाई महिलातर्फ २ स्वर्ण

इटहरी । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले महिलातर्फ २ स्वर्ण जितेको छ ।
कोशी महोत्सवको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा सेनाले २ स्वर्णसहित ४ पदक जितेको हो । सेनाले महिला तर्फको ५५ र ६५ केजी तौल समूहमा स्वर्ण जितेको छ । सेनाको लागि सिवाङगी दुवे र सुशीला चन्दले स्वर्ण दिलाएका हुन् ।
पुरुष तर्फको प्रतिष्पर्धामा भने सेनाले एक रजत र एक काश्य जितेको छ । प्रतियोगिता विभिन्न ४ वटा तौल समूहमा खेलाइएको थियो ।
प्रतियोगितामा प्रदेश नम्बर १ ले दुई रजतसहित ४ पदक जितेको छ । प्रतियोगितामा दुई बिभागीय टिम नेपाल पुलिस र नेपाली सेनाले सहभागिता जनाएको थियो । त्यसैगरी प्रदेश तर्फ ४ र ७ नम्बर बाहेकका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।
सो प्रतियोगितालाई सृष्टि समाज इनरुवा र कोशी गाउँपालिकाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको थियो ।