बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको स्वास्थ्य बिग्रिएपछि एयर एम्बुलेन्सबाट दिल्ली लगिँदै

Newslaya Home

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको स्वास्थ्य बिग्रिएपछि एयर एम्बुलेन्सबाट दिल्ली लगिँदै

शनिबार १०, माघ २०७७

नयाँ दिल्ली । जेलमा रहेका राष्ट्रिय जनता दल (आरजेडी)का प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) दिल्ली लगिने भएको छ।

राँचीको अस्पतालमा उपचार गराइरहेका बिहारका पूर्व मुख्यमन्त्री यादवको अवस्था खराब हुँदै गएपछि दिल्ली लैजान लागिएको प्रेस ट्रस्ट अफ इन्डियालाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

यादव राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (आरआइएमएस) मा उपचाररत थिए। सामान्य निमोनिया देखिएपछि उनको उपचार सुरु भएको थियो।

लालुप्रसादलाई पछिल्ला दुई दिन सास फेर्न कठिन भएपछि शुक्रबार निमोनिया भएको पुष्टि भएको र उनलाई एआइआइएमएस दिल्ली पठाउने तयारी गरिएको हो आरआइएमएसका निर्देशक डाक्टर कामेश्वर प्रसादले जानकारी दिएका छन् ।

डा. प्रसादका अनुसार आजै उनलाई दिल्ली पठाइने छ। दिल्ली लैजानका लागि यादवका परिवारका सदस्यहरुले एयर एम्बुलेन्सको लागि पहल गरिरहेका छन्।

एआइआइएमएसका ८ जना चिकित्सकको टोलीले उनका सबै रिपोर्ट अध्ययन गरिरहेका छन्। उनीहरुले त्यसपछि दिने सुझावका आधारमा उनलाई दिल्ली लगिने छ।