प्रत्येक नेपालीको थाप्लोमामा ४६ हजार ६ सय ९९ रुपैयाँ ऋण

Newslaya Home

प्रत्येक नेपालीको थाप्लोमामा ४६ हजार ६ सय ९९ रुपैयाँ ऋण

शनिबार १०, माघ २०७७

काठमाडौं । सरकारको आन्तरिक र बाह्य गरी ऋण झण्डै १५ खर्ब पुगेको छ । जसअनुसार एक नेपालीको टाउकोमा ४६ हजार ६ सय ९९ रुपैयाँ ऋण पुगेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक बुलेटिनअनुसार मंसिर मसान्तसम्ममा कुल १४ खर्ब ९६ करोड ५६ लाख ऋण पुगेको हो ।

मन्त्रालयका अनुसार सरकारको बाह्य ऋण ८ खर्ब २० अर्ब ८२ करोड रहेको छ भने आन्तरिक ऋण ६ खर्ब ७० अर्ब १४ करोड पुगेको छ । आन्तरिकतर्फ १२ अर्ब २३ करोड ब्याज भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ साँवा २९ अर्ब ५६ करोड तथा ब्याज २ अर्ब ६२ करोड गरी ३२ अर्ब ५६ करोड रकम भुक्तानी भइसकेको छ ।

यस अवधिमा कुल २७ अर्ब २४ करोडबराबरको वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षकै मंसिर मसान्तसम्ममा ६ अर्ब ३२ करोड ३५ लाख वैदेशिक अनुदान भित्रिएको छ ।

मन्त्रालयका अनुसार मंसिर मसान्तसम्ममा २० अर्ब ९१ करोड ८६ लाख वैदेशिक ऋण भित्रिएको छ ।