रोनाल्डोले सर्वाधिक गोल गरेर विश्व कीर्तिमान नराखेको दाबी

Newslaya Home

रोनाल्डोले सर्वाधिक गोल गरेर विश्व कीर्तिमान नराखेको दाबी

शनिबार १०, माघ २०७७

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बुधबार नेपोलीविरुद्ध दुई गोल गर्दै विश्व फुटबल इतिहासमा सर्वाधिक ७ सय ६० गोलको विश्व कीर्तिमान राखेको विषयमा विवाद उत्पन्न भएको छ ।

उनले चेक रिपब्लिकनका जोसेफ विकानको रेकर्ड तोडेको बताइएको थियो । तर रोनाल्डोले विकानको रेकर्ड तोड्न अझै ६२ गोल गर्नुपर्ने चेक रिपब्लिकन फुटबल संघले दाबी प्रस्तुत गरेको छ । संघका अनुसार विकानका ६२ आधिकारिक गोल अझै लुकेको छ । त्यो संख्या जोड्दा विकानले करिअरमा ८ सय २१ गोल गरेको देखिन्छन् । यही डाटा अगाडि सार्दै चेक फुटबल संघले रोनाल्डोको कीर्तिमान आफूहरूले नमान्ने र विकानकै गोल संख्या विश्व कीर्तिमानकै रूपमा रहेको जनाएको छ ।

विश्व फुटबलमा रहेको डाटाअनुसार विकानको नाममा ७ सय ५९ गोल मात्र छ । विकानले एक सिजनमा २६ खेलबाट ५३ गोल गरेका थिए । तर, त्यो डाटा आधिकारिक रूपमा अहिलेसम्म समावेश नगरिएको चेक फुटबल संघको भनाइ छ । चेक फुटबल संघले फुटबल इतिहासमा धेरै व्यक्तिगत गोल गर्ने को भनी प्रश्न उठाएको छ । ‘विश्वकै उत्कृष्ट गोलस्कोरर र गोलकर्ता को हुन् ?’ फुटबल संघले ट्विटर गरी प्रश्न उठाएको छ । फुटबल संघले विकानले करिअरमा ८ सय २१ गोल गरेको घोषणासमेत गरेको छ ।

‘इतिहास र डाटा हेर्ने हो भने अलटाइम गोलस्कोरर महान् खेलाडी जोसेफ विकान नै हो, हामी यो घोषणा गर्छौँ कि उनले ८ सय २१ गोल गरेका थिए, उनी नै हाम्रो र विश्वको नजरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा पर्छन्,’ चेक फुटबल संघका अधिकारी जारोस्लाम कोलारले भने । अल टाइम गोल स्कोररको लिस्टको पहिलो स्थानमा पुगेपछि रोनाल्डोले केही पनि प्रतिक्रिया दिएका छैनन् । तर, चेक फुटबल संघका अधिकारी कोलारले विश्व फुटबलमा उत्कृष्ट गोलस्कोरर को भनी प्रश्न उठाउँदै यसमा छलफल हुनुपर्ने धारणा राखेका छन् ।

उनले यो निर्णय विवादस्पद हुनेसमेत औँल्याएका छन् । फुटबल संघले सुरुदेखि नै विकानको गोल डाटा समावेश गरेको जनाएको छ । डाटा संकलन गर्ने नियमनकारी संस्थासँग समन्वयन गर्न नसक्दा यस्तो समस्या आएको कोलारले बताए ।

‘चेक फुटबल संघ र सम्बन्धित डाटा संकलन गर्ने संस्थाबीच राम्रो तालमेल हुन सकेन, यसै कारण अहिले यो विवाद आएको हो,’ उनले भने, ‘हामीले यसबारेमा धेरै अध्ययन तथा अनुसन्धान गरेका छौँ, सन् १९५२ सम्म ८ सय ५ गोल गरेको डाटा समावेश छ ।’ विकानले दोस्रो डिभिजनको क्लब राडेक क्रलोभबाट खेल्दा गरेको गोल संख्या समावेश नभएको उनले दाबी गरेको छन् ।

चेक रिपब्लिकन फुटबलअन्तर्गत डाटा संघ कमिटीले निकालेको गोल संख्याको आधारमा विकान नै अल टाइम गोल स्कोरर भएको उनको भनाइ छ । विकानले सन् १९३० देखि १९५४ सम्म फुटबल खेलेका थिए । यसबीचमा उनले १९३८ देखि १९४८ स्लाभिया प्रागुएका लागि फुटबल खेल्दा धेरै गोल गरेका थिए । करिअरमा उनले ती दुई राष्ट्रका जर्सी लगाए । सन् १९३३ र १९३६ मा अस्ट्रिया र १९३८ र १९४९ मा चेकोस्लाकियाका राष्ट्रिय टोलीबाट खेले ।

सन् १९३४ मा विकानकै उत्कृष्ट प्रदर्शनमा अस्ट्रिय विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । त्यस समयमा उनले २ सय ७४ खेलमा ५ सय ३४ गोल संख्या पुर्‍याइसकेका थिए । उनले नौ वर्ष स्लाभिया प्रागुएबाट खेले । विश्व फुटबलमा एक खेलाडीले करिअरमा आधिकारिक कति गोल गरे भन्ने सधैँ विवादित नै बनेको छ ।