विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता

Newslaya Home

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता

- हिमाल दाहाल
बिहीबार ०८, माघ २०७७

पछिल्लो एक महिना सिंगो देशलाई नै निराश बनाउने गरी देशको राजनीतिले कोल्टे फेर्यो, जबकी जनताहरु देशको विकासले कोल्टे फेर्ने आशामा थिए ।

दुई तिहाई मत पाएका प्रधानमन्त्रीले आफ्नै पार्टी नेताहरुबाट विश्वास पाउन सकेनन् । अविश्वासको प्रस्ताव दर्ता हुने र प्रधानमन्त्रीबाट हटाइने भएपछि संसद विघटन गरी चुनाव घोषणा गरे । अरु त अरु, आफै अध्यक्ष भएको बेलामा पनि पार्टीलाई सग्लो राखिराख्न सकेनन् । एकातिर जनमतले बनाएको प्रतिनिधि सभा अनि अर्कोतिर लाखौं कार्यकर्ताले बनाएको पार्टी दुवै भत्कियो ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन र नयाँ चुनावको घोषणालाई विभिन्न पार्टीहरुले विभिन्न तरिकाले विश्लेषण गरेका छन् । स्वयं ओली र नेपाली काँग्रेसको नेतृत्व यसलाई अवसरको रुपमा लिएको छ । तर बाँकी समुहका लागि यो अद्योगतितर्फको यात्रा हो ।

अरुभन्दा पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने आशमा ओलीलाई घेराबन्दी गरिरहेका प्रचण्ड र माधव नेपालको लागि विकसित परिस्थिती अत्यासलाग्दो भुमरी बनेको छ ।

प्रधानमन्त्री ओलीको संसद विघटनलाई कुनै पनि हालतमा सही मान्न सकिन्न । भलै उनी इतिहासका सक्षम प्रधानमन्त्री साबित हुन्, गुटको लडाईले जनमतको घाँटि थिचेको घटना नेपाली राजनीतिक इतिहासमा कालो धब्बा बनेर रहनेछ ।

तर अर्को के कुरा पनि सहि हो भने, ओलीलाई आफ्नै संगठनले सहयोग गरेन । आफ्नै सहकर्मीहरु अनि मन्त्रीहरुबाट पनि सहयोग पाएनन् । केही मन्त्रीहरु असक्षम देखिए, केहीले नियतवश सक्षमता देखाएनन् ।

तर उता माधव प्रचण्ड समुहले पनि निकै अघिदेखि हेपिएको अनुभव गरिरहेको थियो । वर्षौदेखिको गुटको लडाई प्रधानमन्त्रीको आधाउधी कार्यकाल सकिँदा सतहमा देखियो । पार्टी अहिले प्रष्ट दुई चिरा परेको छ । अहिले नाम र सुर्य चुनाव चिन्ह कसले पाउने भन्ने विवाद मात्र बाँकी छ ।

संसद विघटनको वैधता सर्वोच्चमा छिनोफानो हुने क्रममा छ । पार्टीको चिन्ह र नाम कसले पाउने भन्ने विषयमा निर्वाचन आयोगले अध्ययन गरिरहेको छ । विधि विधान र नियम कानुन हेरेर निर्णयहरु आउलान्, तर जे निर्णय आएपनि राजनीतिक अस्थीरता हुने निश्चित छ । सुर्य चिन्ह र नाम एउटाले पाइरहँदा अर्को समुहले आन्दोलन चर्काउने सम्भावना छ । सत्ता र शक्तिको लडाईका कारण देश ठूलो अस्थिर राजनीतिक भुमरीमा पर्नेवाला छ ।

स्थायीत्व र विकासको लागि भोट दिएका नेपाली जनताहरुको लागि योभन्दा ठूलो दुःखको कुरा के हुन सक्ला र ? अहिले ओली नेतृत्वको नेकपा बाहेकका सबै दलहरु सडकमा छन् । सडक आन्दोलनकै बलमा राजतन्त्र फालिएको र धेरै ठूला राजनीतिक परिवर्तन भएको देशमा यो आन्दोलनको अर्थ ठूलो छ, नतिजा पनि सानो नहोला । ओलीले पार्टी विभाजन त पचाउलान्, तर संसद विघटनलाई राजनीतिक दलहरुले समर्थन गर्ने सम्भावना छैन । सरकार गम्भीर संकटमा छ ।

सबैभन्दा ठूलो अवसर भने पहिलो पार्टी बन्ने धुनमा रहेको नेपाली काँग्रेसलाई मिलेको छ । आन्तरिक झगडाहरुलाई बिर्सिदिने हो भने नेपाली काँग्रेस अबको चुनावमा नम्बर एक हुने निश्चित छ ।

उता ओली समुह राष्ट्रवादी छवि र यस बिचमा भएका केही उपलब्धीमुलक ऐतिहासिक कामलाई भँजाएर पहिलो पार्टी बन्न सकिन्छ कि भन्ने अनुमान साँधिरहेको छ । यस्तै पुर्व माओवादी र माधव नेपाल गुट चुनावबाटै पराजित हुने अनुमान पनि ओलीको छ ।

उता पुर्व माओवादीलाई द्वन्दकालका मुद्धा ब्युँताएर कतिखेर खोरमा थुनिनुपर्ने हो, डर छ । त्यसैले प्रचण्ड कुनैपनि हालतमा अल्पमतमा पर्न चाहँदैनन् । यही एउटै कारणले उनी आजकाल त्यती सुनिन छाडेका छन् । धेरैपछि केही दिनअघि टाउको फुटाउन मन लागेको अभिव्यक्ति दिए । त्यो, प्रचण्डको त्यो गर्जन होइन ।

भाषणमा जे भनिएपनि नेकपाबिचको लडाई नितान्त सत्ता र शक्तिको लडाई हो । एउटा समुहलाई सत्ता चाहिएको थियो, अविश्वासको प्रस्ताव लिएर गयो । अर्कोलाई सत्ता छाड्नु थिएन, त्यसैले संसदै भंग गर्यो । अरु दलहरु यो परिस्थितीलाई संसद विघटनको विरोध गरेजस्तो गरी चुनावी माहोल बनाउने मौकाको रुपमा प्रयोग गरिरहेका छन् ।

सबै पार्टीहरु स्पष्ट छन्, आन्दोलनबाट प्रतिनिधिसभा पुनस्र्थापित गर्ने, नभए चुनावको वातावरण तयार गर्ने । तर अन्योलताले नेकपाका कार्यकर्ताहरुलाई गाँजेको छ । खासगरी पुर्व नेकपालाई । कता जाने, कता लाग्ने ? तल्लो तहका कार्यकर्ताहरुसम्म पनि यो दुविधा छ । आफ्नो पक्षमा भीड रहेको पुष्टि गर्न संगठनहरुले प्रयास गरिरहेका छन् । तर आज देखिएको भीड चुनावसम्म उस्तै रहँदैन ।

वास्तवमा पार्टी फुटको यो परिपाटी नेपालका लागि नौलो हैन । कम्युनिष्ट होस् या कांग्रेस, राप्रपा होस् या विवेकशील साझा । सानो सानो विषयमा जुँगा लडाईमै फुट्दै जुट्दै गरेका छन् ।

अनि राजनीतिमा दशकौँ बिताएका नेताहरु पार्टी फुटे, जुटेसँगै कहिले यो पार्टीमा त कहिले त्यो पार्टीमा हुन्छन् । त्यसैले कुन पार्टी छान्ने भन्ने कुरा ठूलो होइन । नेकपामा सुर्य चिन्ह र नाम कता जान्छ, त्यसले अहिले बनेको दुई वटा संगठन अझै तोडमोड हुने अनुमान छ । स्वार्थका आधारमा विभाजित नेताहरुको संगठनमा रहेका कार्यकर्ताहरु स्वार्थकै आधारमा भोलि छिन्नभिन्न हुने धेरै सम्भावना छ ।

खासमा राजनीतिक पार्टी नेटवर्कसहितको पब्लिक कम्पनीभन्दा फरक हुनै सकेनन् । कम्पनि नाफा घाटा र वासलातको लागि सक्रिय हुन्छ । राजनीतिक पार्टी पद र पहुँचका लागि सक्रिय हुन्छन् । स्वार्थको झुण्डलाई बुझ्ने कुनै पनि कार्यकर्ता इमान्दार हुँदैन ।

राजनीति खेल हो । भाषण शब्दजाल हुन् । देश कसैले बनाउने हैन, सबैले आफूलाई बनाउने हो । हिजो एक अर्कालाई दलाल अनि गुरिल्ला जंगली भन्नेहरू मिलेर सत्ता चलाए, पार्टी चलाए । आज फुटेर एक अर्कालाई गाली गर्दैछन् । भोली फेरी एक हुन्छन् । खेलमा झै राजनीतिमा स्थायी शत्रु र मित्र कोहि हुँदैन । अहिले सबै पार्टी चरित्रमा एकै हुन् । त्यसैले पार्टी विभाजनसँगै कार्यकर्ताबिचको मनमुटाव र गाली गलौजको श्रृंखला जुन सुरु भएको छ, त्यो चाहिँ चिन्ताको विषय हो ।

सामाजिक सञ्जालमा असरल्ल छरिएका गाली गलौजहरु सबैले अर्काइभमा राखेका छन् । भोलि मिल्ने ठाउँ राखेर झगडा गर्दा राम्रो हुन्छ । आलोचना अनि अरूलाई निचा देखाउने खालको अभिव्यक्तिले मानसिक दरिद्रता मात्र पुष्टी गर्छ । कसैलाई उँचो देखाउँदैन । भोली शीर्ष नेताहरु कुम जोडेर हिँड्न थालेपछि आज आफ्नै छेउको साथी, छिमेकीलाई गरेका गालीहरु कसरी फिर्ता हुन सक्छन् ?

बौद्धिक तर्क गर्नुपर्छ, ताकि विरोधीहरूले पनि मन पराउन् । आज विचारमा द्वन्द भयो, बाटो छुट्टीयो । ठिक छ । तर व्यक्तिमा द्वन्द नहोस् । राजनीतिक द्वन्दले सम्बन्ध नछुट्याओस् । पार्टी त फुट्यो तर मन नफुटोस् । भोली मलामीहरुले पार्टी नसोधुन् । रगत दिने दाताहरुले गुट नसोधुन् ।