सामसुङ प्रमुखलाई साढे २ वर्षको जेल सजाय

Newslaya Home

सामसुङ प्रमुखलाई साढे २ वर्षको जेल सजाय

बुधबार ०७, माघ २०७७

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङका प्रमुख व्यक्ति ली जे योंगमाथि अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ ।

दक्षिण कोरियास्थित उच्च अदालतले घुस काण्डमा दोषी ठहर गर्दै ली माथि जेलसजाय गरेको हो ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हइसमेत संलग्न घुसकाण्डको पुनः सुनुवाइका क्रममा सामसुङ प्रमुखलाई जेल सजाय सुनाइएको हो ।

ली स्न् २०१४ देखि सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको डि फ्याक्टो प्रमुखका रुपमा रहँदै आएका छन् ।

उच्च अदालतले गरेको पछिल्लो फैसलाले कम्पनीमा ली को नेतृत्वदायी भविष्यलाई असर गर्ने विश्लेषण गरिएको छ । अढाई वर्षको जेल सजायका कारण आगामी दिनमा कम्पनीको निर्णय प्रक्रियामा ली वञ्चित हुनेछन् ।

साथै अदालती निर्णयले सामसुङ कम्पनीमा नेतृत्वको रिक्तता सिर्जना गर्नसक्ने र भविष्यमा हुने ठूलो आकारका लगानीका निर्णयहरु समेत प्रभावित हुनसक्ने विज्ञहरुको भनाइ छ ।

सेजोंग विश्वविद्यालयका वाणिज्य शास्त्रका प्राध्यापक किम दाए जोंगले यो घटना सामसुङका लागि ठूलो धक्का तथा संकटको रुपमा खडा भएको बताउँछन् ।

ली माथि जेल सजाय भएको खबर सार्वजनिक भएसँगै सामसुङ कम्पनीको शेयर मूल्यमा ४ प्रतिशतको गिरावट आएको छ ।

आफ्ना बुवा तथा सामसुङका अध्यक्ष ली कुन हीलाई हृदयाघात भएसँगै सन् २०१४ देखि ली ले कम्पनीको नेतृत्व गर्दै आएका थिए । कुन ही को गत वर्ष निधन भएको थियो ।

उनको निधनपछि अंशियारहरुले ठूलो परिमाणमा उत्तराधिकारी कर तिर्नुपर्ने हुनाले सामसुङको ठूलो परिमाणको शेयर तथा लाभांस बिक्री गर्नक्ने अनुमान गरिएको थियो ।