प्रदेश १ मा काँग्रेस तटस्थ नबस्ने, भन्यो, ‘यो हाम्रो लागि अवसर हो’ (विज्ञप्ती)

Newslaya Home

प्रदेश १ मा काँग्रेस तटस्थ नबस्ने, भन्यो, ‘यो हाम्रो लागि अवसर हो’ (विज्ञप्ती)

मङ्गलबार ०६, माघ २०७७

इटहरी । प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई नेपाली काँग्रेसले अवसरका रुपमा लिएको छ । मंगलबार विज्ञप्ती जारी गर्दै प्रमुख सचेतक केदार कार्कीले सकारात्मक बताउँदै आफूहरु तटस्थ नबस्ने स्पष्ट पारेका छन् ।

प्रमुख प्रतिपक्षी दल भएका हिसाबले आफूहरुले राख्नुपर्ने अविश्वास प्रस्ताव नेकपाकै सांसदहरुले राख्नु आफूहरुको लागि सकारात्मक कुरा भएको विज्ञप्तीमा उल्लेख छ । ‘अन्य राजनीतिक सहमती नहुँदासम्म नेपाली काँग्रेस तटस्थ बस्न सक्दैन र बस्नु हुँदैन भन्ने मेरो धारणा स्पष्ट पार्दै हामी कसैलाई सघाउने भन्दा पनि आफै नेतृत्व गर्ने प्रयास गर्नुपर्दछ,’ विज्ञप्तीमा उल्लेख छ, ‘र हाम्रो नेतृत्व स्वीकार गर्नेसँग नै सहकार्य गर्नुपर्दछ ।’

उनले अन्य राजनीतिक घटना विकसित नभएसम्म मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव प्रतिपक्षको अंग र लोकतन्त्रको सर्वमान्य सिद्धान्त भएको दोहोर्याएका छन् ।

नेकपामा देखिएको विवादसँगै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेका छन् । नयाँ सरकार गठन गर्न अथवा राईकै सरकारलाई निरन्तरता दिन कांग्रेसको समर्थन अनिवार्य भएको छ । दाहाल–नेपाल र ओली समूहलाई सरकार गठन गर्न कांग्रेसका २१ सांसदको मत अनिवार्य देखिएको छ ।

मुख्यमन्त्री शेरधन राईले निलम्बन गरिएका १६ सांसदलाई संसद् बैठकमा प्रवेश गर्न रोक्ने भएका छन् । राईको पक्षमा अहिले ३० जना सांसद छन् । नेकपाको संसदीय दलको बैठक बस्न ३३ सदस्य भए बहुमत पुग्छ ।

तीन जना थप सांसद त्यो समूहमा आउने र बहुमत पुग्ने दाबी गरिएको छ । उता राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको माधव–प्रचण्ड समुहले भने रोक्ने प्रयास गरिए प्रतिवाद गर्ने जनाएको छ ।