एक लाख जना म्यादी प्रहरीको भर्ना खुल्दै

Newslaya Home

एक लाख जना म्यादी प्रहरीको भर्ना खुल्दै

मङ्गलबार ०६, माघ २०७७

काठमाडौं । मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना खोल्ने तयारी गरेको छ ।

वैशाखमा हुने भनिएको निर्वाचनको लागि करिब १ लाख म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाइरहेको हो ।

फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुने एक लाख म्यादी प्रहरीमा पुराना म्यादी प्रहरीलाई प्राथमिकता दिइने जनाइएको छ ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । प्रहरीले विगतका निर्वाचनमा म्यादीका लागि भर्ना आह्वान गर्दा भुतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गार्डसहित अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेको थियो ।

यस्तै साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्तिलाई अघिल्लो निर्वाचनमा म्यादी प्रहरी बन्न योग्य मानिएको थियो ।

म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने छ ।