धनगढीमा साढे १० करोडको लागतमा चिस्यान केन्द्र निर्माण हुँदै

Newslaya Home

धनगढीमा साढे १० करोडको लागतमा चिस्यान केन्द्र निर्माण हुँदै

आइतबार ०४, माघ २०७७

धनगढी । धनगढीमा साढे १० करोडको लागतमा चिस्यान केन्द्रको निर्माण कार्य शुरु भएको छ । संघीय सरकारले धनगढी उपमहानगरपालिका–१९ मा चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी उक्त चिस्यान केन्द्रको निर्माण शुरु गरेको हो ।

चिस्यान केन्द्र निर्माणको करीब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । तोकिएकै मितिमा निर्माण सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनी रविना कन्ट्रक्सनका प्रोजेक्ट इन्जिनियर नविन भण्डारीले बताए ।

यसअघि दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने लक्ष्य तोकिएको भएपनि कोभिड–१९ का कारण हाल ६ महीना म्याद थप गरि निर्माण कार्यलाई तीव्र दिइएको उनको भनाइ छ । पुरानो निर्माण सम्झौता अनुसार गत मंसिरमा चिस्यान केन्द्र निर्माणको काम सक्नुपर्ने थियो । तर कोभिड १९ का कारण लामो समय निर्माणको काम प्रभावित बन्न पुगेको हो ।

निर्माण कम्पनी रबिना कन्ट्रक्सनसँग २०७५ मंसिर १८ गते दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता संघीय सरकारले गरेको थियो । अहिले पुनः ६ महिना म्याद थप गरेपछि चालू आवभित्रै निर्माण गरिसक्नुपर्ने समय तोकिएको छ ।

संघीय सरकारको १० करोड ४९ लाख ७३ हजार रुपैयाँको लगानीमा १५ कठ्ठा क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । दुई हजार मेट्रिकटन भण्डारण क्षमताको चिस्यान केन्द्रमा स्थानीयस्तरमा उत्पादित तरकारी भण्डारण गरिनेछ ।

चिस्यान केन्द्र नहुँदा यस क्षेत्रमा उत्पादित तरकारी तथा खाद्यन्न भण्डारणमा समस्या हुँदै आएको छ । चिस्यान केन्द्र बनेमा मौसमी तथा बेमौसममा उत्पादित तरकारी खाद्यान्न लगायत भण्डारण गरेर बेमौसममा पनि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए ।