प्रदेश १ मा सत्ता साझेदार गर्न काँग्रेसको बटम लाइन ‘मुख्यमन्त्री

Newslaya Home

प्रदेश १ मा सत्ता साझेदार गर्न काँग्रेसको बटम लाइन ‘मुख्यमन्त्री

शनिबार ०३, माघ २०७७

विराटनगर । प्रदेश १ मा अविश्वासको प्रस्तावपछि शेरधन राई नेतृत्वको नेकपाको सरकार अल्पमतमा परेको छ । शेरधन राइ नेतृत्वको सरकारलाई हटाएर भीम आचार्य नेतृत्वको सरकारलाई स्थापित गर्ने कसरतमा नेकपाको माधव–प्रचण्ड गुट रहेको छ ।

यस्तो अवस्थामा राई वा आचार्य दुवैसामु नेपाली काँग्रेसलाई फकाउनुको विकल्प छैन । तर प्रदेश सरकारको सत्ता साझेदारी गर्ने अवस्थामा पुगेको नेपाली काँग्रेस भने मुख्यमन्त्रीको वार्गेनिङमा लागेको छ ।

काँग्रेसले मुख्यमन्त्री जुन समूहले दिन्छ, सोही समूहसँग मिलेर जाने सङ्केत गरेको छ । काँग्रेस संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालालाई मुख्यमन्त्री दिने पक्षसँग सहकार्य गरिने पुर्वका ८ जिल्लाका जिल्ला सभापतिहरूले निष्कर्ष निकालेका छन् ।

काँग्रेस मोरङ सभापति डिगबहादुर लिम्बु, सुनसरी सभापति राजीव कोइराला, पाँचथर सभापति नरेन्द्र केरुङ, झापा सभापति उद्धव थापा, खोटाङ सभापति नरेश श्रेष्ठ र उदयपुर सभापति विदुर बस्नेत सहभागी बैठकले संसदीय दलका नेता कोइरालालाई मुख्यमन्त्री प्रस्ताव गर्दै काँग्रेस नेतृत्वमा सरकार बन्नु पर्ने निष्कर्ष निकालेको हो ।

नेकपा नेतृत्वको सरकार बनेमा त्यो सरकार राजनीतिक रूपमा कमजोर हुने काँग्रेस प्रमुख सचेतक केदार कार्कीले बताएका छन् ।

३७ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे पछि मुख्यमन्त्री राईले ३ महिनाको निलम्बन गरिसकेका छन् । ६७ सांसद रहेको नेकपा २ समूहमा विभाजित भएपछि २१ सांसद रहेको नेपाली काँग्रेससँग दुवै समूहले छलफल र भेटघाट अघि बढाएका छन् ।