इन्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो

Newslaya Home

इन्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो

शनिबार ०३, माघ २०७७

काठमाडौं । इन्डोनेसियामा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । त्यहाँको सुलावेसी द्वीपमा शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो ।

उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरुको खोजी भइरहेको स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले बताए । भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् ।

विनाशकारी भूकम्प र सुनामीका कारण हरेक वर्ष इन्डोनेशिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा टेलिफोनहरु काटिएकाले उद्धारकार्य प्रभावित भएको छ । भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ ।

स्थानीय समयानुसार मध्यरातमा गएको भूकम्पका कारण मानविय क्षति बढी भएको बताइएको छ । भूकम्पलगत्तै सुनामी आउनसक्ने भन्दै तटीय क्षेत्रका हजारौं सर्वसाधारलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन् ।

सन् २००४ मा ९ दशमलव १ म्याग्निट्यूडको भूकम्पपछि हिन्द महासागरमा आएको सुनामीका कारण १३ देशमा २ लाख २६ मानिसको मृत्यु भएको थियो ।

तीमध्ये इन्डोनेशियाको आचे प्रान्तमा मात्र एक लाख ७० हजार जनाले ज्यान गुमाएका थिए ।