झारफुकको नाममा तातो फलामले डाम्दा एक जनाको मृत्यु

Newslaya Home

झारफुकको नाममा तातो फलामले डाम्दा एक जनाको मृत्यु

बुधबार २९, पुष २०७७

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा ज्यान गएको छ । सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो १२ बजे मुखियालाई झारफुक गरि सञ्चो बनाइदिने बहानामा तातो फलामले शरीरमा डाम्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिए ।

मालिका गाउँपालिका–६ अर्जे स्थायी घर भइ अहिले रेसुङ्गा नगरपालिका–१ तीनधारामा भाडामा अस्थायी टहरा बनाइ बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुसन्धाबाट खुल्न आएको पन्तले बताए ।

मुखिया ढाड दुख्ने बिरामी भइ झारफुकका लागि गएको पुस २५ गतेदेखि निरन्तर श्रेष्ठको साथमा थिए । मुखियासँगै रहेका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ का पुनबहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । श्रेष्ठ दम्पती प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।