तराईमा चिसो बढेपछि जनजीवन कष्टकर बन्दै

Newslaya Home

तराईमा चिसो बढेपछि जनजीवन कष्टकर बन्दै

बुधबार २९, पुष २०७७

विराटनगर । हावा र बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण प्रदेश १ को राजधानी विराटनगर लगायत तराईको जनजीवन कष्टकर बन्दै गएको छ। केही दिन अघिसम्म मौसम सामान्य रहेकोमा दुई दिन यता भने अत्याधिक चिसो बढेको छ।

हुस्सुले आकाश ढाकेर घाम देख्न नपाउँदा र पश्चिमी वायुसँगै शीतलहर चल्दा बढेको ठिहीले जनजीवन प्रभावित बनेको हो। यस्तो अवस्थामा चिसो बढ्नु स्वभाविक रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले बताए।

कार्यालयका अनुसार मंगलबार १२.२ डिग्री सेल्सियस मापन गरिएको विराटनरको न्यूनतम तापक्रम बुधबारसम्म आइपुग्दा ३.२ डिग्री तल झरेको छ। बुधबार न्यूनतम तापक्रम ९ डिग्री रहेको थियो। तापक्रम एकै दिन ३ डिग्रीभन्दा तल झर्नुलाई असामान्य लिएर मौसम अत्याधिक मात्रामा चिसिँदै गएको रुपमा लिनुपर्ने देउजाको भनाइ छ। उनले यो अवस्था केही दिन कायम रहनसक्ने बताए।

चिसो धेरै बढेपछि सडकमा सर्वसाधारणको हिँडडुल पातलिन थालेको छ। सवारी साधन कम मात्रामा सडकमा देखिन थालेका छन्। अत्याधिक जाडो बढेपछि आर्थिक अवस्था कमजोर भएका, न्यानो लुगा किनेर लगाउन नसक्ने, वासस्थानको उचित व्यवस्था नभएकाहरुको विजोग भएको छ।

गरिबीमाथि चिसोको पीडा थपिँदा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित बनेको पाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले बताए। सर्वसाधारणले कतिपय ठाउँमा आगो बालेर चिसो भगाउने प्रयास गरिरहेको उनको भनाइ छ।

नजिकको दृष्य पनि देख्नसक्ने अवस्था नभएपछि सवारी चालक समस्यामा परेका छन्। ट्राफिक प्रहरीले हुस्सुले दुर्घटनाको जोखिम बढेको भन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ। प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले सबै चालकलाई अगाडिको ‘फक्स लाइट’ बालेर मात्रै सवारी साधन चलाउन आह्वान गरिएको जानकारी दिए।