गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी घोषित

Newslaya Home

गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी घोषित

बुधबार २९, पुष २०७७

काठमाडौं । नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

त्यस्तै, मन्देकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । मन्देकाजीले फुटबलका बिकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन् ।

साग प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । त्यस्तै, २०७६ साल मै नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् ।

यता, मण्डेकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।