करातेका मन्देकाजी वर्षकै उत्कृष्ट खेलाडी घोषित

Newslaya Home

करातेका मन्देकाजी वर्षकै उत्कृष्ट खेलाडी घोषित

मङ्गलबार २८, पुष २०७७

काठमाडौँ । कराते खेलाडी मन्देकाजी श्रेष्ठ उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ मा मन्देकाजीले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा मन्देकाजीले दुई स्वर्ण पदक जितेका थिए। दोहोरो स्वर्ण पदक जित्ने तीन खेलाडीमध्ये मन्देकाजी एक खेलाडी हुन्। मन्देकाजीबाहेक तेक्वान्दोकी आयषा शाक्य र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण पदक जितेका थिए। त्यसबाहेक पौडीकी गौरिका सिंहले चार स्वर्ण पदक जितेकी थिइन्।

मन्देकाजी यस वर्ष पिपल्स च्वाइस विधाको मनोनयनमा पनि परेका थिए।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको कार्यक्रममा मन्देकाजीले फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपिचन्द कार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन्। गल्फका सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।

मन्देकाजीले सागमा टीम काता र एकल स्पर्धामा स्वर्ण पदक जितेका थिए। त्यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि मन्देकाजीले एकलकातामा स्वर्ण पदक र टीम कातामा रजत पदक जितेका थिए।

३६ वर्षे मन्देकाजीले बंगलादेशमा सम्पन्न कराते साफ च्याम्पियनसिपमा एकल कातामा काश्य पदक र टीम कातामा स्वर्ण पदक जितेका थिए।