अखण्ड भारत कहिल्यै थिएन, नेपाल–भारत सार्वभौमिकतामा बराबरी : प्रधानमन्त्री ओली

Newslaya Home

अखण्ड भारत कहिल्यै थिएन, नेपाल–भारत सार्वभौमिकतामा बराबरी : प्रधानमन्त्री ओली

मङ्गलबार २८, पुष २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय मिडियाहरुलाई दिएको अन्तर्वार्ताले अहिले देश तातेको छ । ओलीले राष्ट्रियता, सार्वभौमसत्ताको पक्षमा राखेको अडान चर्चाको विषय बनेको छ ।

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काठमाडौंमा आएर आइतबार ओलीको अन्तर्वार्ता लिएका हुन् । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताए । उनले अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताए । भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने बताएका छन् ।

ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए । उनले भारत पनि अखण्ड कहिल्यै नरहेको बताए ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले राष्ट्रियता र सार्वभौमसत्ताको लागि जुनसुकै देशसँग उस्तै सम्बन्ध बनाउने बताए ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताए ।

भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि यसबारे नराम्रो टिकाटिपनी गरेको थियो । सुधीरले जी न्युजमा ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम चलाएका थिए ।