ट्रकको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु

भद्रपुर । दमकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा दमक नगरपालिका–४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ ट्रकले ठक्कर दिँदा साइकलमा सवार ओझा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा विएण्डसी हस्पिटल बिर्तामोडमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए।
त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ।