खानेपानी पाएपछि इलाममा फर्के बसाई सरेकाहरु

Newslaya Home

खानेपानी पाएपछि इलाममा फर्के बसाई सरेकाहरु

शनिबार १८, पुष २०७७

इलाम । खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकका स्थानीयहरुले गाउँ नै छाडेका थिए । तर पछिल्लो समय पहाड खनेर पानी निकालिएपछि बसाई सरेकाहरु पनि फर्कन थालेका छन् ।

पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेको तथ्यांक छ । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका हुन् ।

पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो । खानेपानी लिन स्थानियहरुले दैनिक एक घण्टा हिँड्नुपर्थ्यो । अहिले बोरिङबाट घरमै पानी झर्न थालेपछि स्थानीयहरु खुसी भएका छन् ।

एक वर्षअघि रु दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङको काम शुरु गरिएको थियो । अहिले आयोजना १०० घरका लागि हो । अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ ।