‘हतुवागढी ७ देखि ढुङ्गे हुँदै मचुवा सडक विस्तारमा जोड दिएका छौं’

Newslaya Home

‘हतुवागढी ७ देखि ढुङ्गे हुँदै मचुवा सडक विस्तारमा जोड दिएका छौं’

सोमबार १३, पुष २०७७

स्थानीय स्तर देखि विकास गर्दै मुलुकको समृद्धी चाहने हो भने सरकारले दीर्घकालिन उद्देश्यका विभिन्न योजनाहरु तयार गर्नुपर्छ । समग्र वडाको विकास योजना तथा स्थानीयको जनचाहनाबारे भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष ध्यान कुमार राई सँग न्युजलयका लागि अर्जुन राईले गरेको कुराकानीः


आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

अहिले आर्थिक वर्ष २०७७/०७८ को योजनाहरु सम्झौता तथा त्यसलाई कार्यन्वयन गर्ने कार्यहरुमा हामी वडा समिति व्यस्त रहेका छौं ।

यस वडाको विकासको अवस्था कस्तो छ ?

जनचाहनाहरु थुप्रै रहेका छन् । आफूले पनि केही गर्छु भनेर सोचेको अवस्था थियो । त्यैपनि सोचे अनुरुप पनि भएको छैन । गत साल पनि कोभिड–१९ को कारणले कुनैपनि बजेटहरु विकास निर्माणको कामहरुमा लगाउन पाइएन । त्यस कारण ती योजनाहरु अधुरो नै रहेको अवस्था छ । म आफैं यस वडाको वडाध्यक्ष भएर पनि आफ्नो चाहना र इच्छा अनुसारको विकास गर्न सकिएको छैन । त्यैपनि धेरै गरिएको छ र केही हुँदैछ । शिक्षा क्षेत्रको सुधारमा हामीले जोड दिएका छौं । हाम्रो वडामा दुई वडा सामुदायक विद्यालय छन् । त्यहाँका ५ कक्षा सम्मका विद्यार्थीहरुको लागि दिवा खाजाको योजना सञ्चालन गर्ने तयारी छ । गाउँपालिकाको योजना भएकोले दुवै विद्यालयका प्रधानध्यापकहरुलाई बैठकमा डाकेको छु । वडामा वडाध्यक्षको नेतृत्वमा एउटा समिति बनाउने भनिएको छ । दिवा खाजा सञ्चालनको लागि अभिभावकहरुले बालबालिकाहरुलाई खाजा बनाएर पठाउने या गर्न नसक्ने अवस्था हुँदा विद्यालयले नै व्यवस्थापन गर्ने भन्ने बारे छलफल गरेर अघि बढ्ने योजना छ । प्रत्येक दिन खाजा बापत एक विद्यार्थीले १५ रुपैयाँको दरले रकम विभाजन गरिने छ । त्यस बराबरको स्थानीय स्तरमा उत्पादन भएको वस्तुको उपयोग गर्ने भनिएको छ ।

सुरुवाती दिन देखि आज सम्म के कस्ता विकासका कामहरु भए ?

निश्चय पनि सुरुवाती दिन देखि अहिले सम्मको अवस्थालाई हेर्ने हो भने पहिलो वर्ष र दोस्रो वर्ष सोचे अनुरुप नै हामीले काम गरेका छौं । त्यसबापत हामीलाई केही प्रतिफलहरु समेत आए । तेस्रो र यो चौंथो वर्षमा विकासका कामहरु अपेक्षा अनुसार भएका छैनन्, र बजेटहरु पनि लगानी भएका छैनन् ।

यस पटक वडाको बजेट के मा लक्षित गर्नु भएको छ ?

वडा मातहतमा आएका बजेटलाई समानुपातिक हिसाबबाट नै विभाजन गरेका छौं । दलित, आदिबासी, जनजाती देखि लिएर अपाङ्ग, वृद्धहरुका लागि समेत छुट्याइएको छ । विशेष गरि सम्पूर्ण बजेटको मोटो रकम चाँही अति आवश्यक तथा यस वडामा विकासको फड्को मार्नको लागि सडकबाटोको क्षेत्रमा विनियोजन गरेका छौं । हाम्रो हतुवागढी ७ नम्बर वडा कुनैपनि मुख्य सडक सँग नजोडिएको कारणले यसको भविष्यको रुपरेखा कोर्नको लागि हतुवागढी ७ देखि आम्जिराङ्ग हुँदै ढुङ्गे, मचुवा सडक विस्तारको लागि १३ लाग छुट्याइएको छ । यो योजना यस वडाबासी सम्पूर्ण जनताको लागि प्रभावकारी विकास हुने माध्यम हो ।

विश्वमहामारीको रुपमा फैलिएको कोरोना संक्रमण (कोभिड–१९) को अवस्थामा स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको भूमिका कस्तो रह्यो ?

कोभिड–१९ को सवालमा आज भन्दा केही समय अगाडी बनदाबन्दीको जतिपनि दिनहरु थिए, त्यो समयमा यहाँको जनप्रतिनिधिले राम्रो सँग नै आफ्नो भूमिका निर्वाह गरेको छ । त्यो समयमा उच्च सतर्कताका साथ वडा नम्बर ७ भित्र कोरोना संक्रमणको बारेमा निक्कै सजग र सचेत गराउने कामहरु भए ।

वडामा के कस्ता समस्याहरु रहेका छन् ?

यो गम्भीर विषय रहेको छ । वडाका धेरै किसिम, धेरै प्रकृतिका समस्याहरु आई पर्छन् । जनताको इच्छा चाहनाहरु धेरै नै रहेका छन् । अधिकांश जनअपेक्षाहरु पुरा गरेका हौंला कसैको भएका छैनन् । समस्याहरु प्नि त्यस्तै किसिमका आउने गर्छन् । विकासकै कुरा गरिरहँदा विशेष गरि हाम्रो वडामा धेरै भन्दा धेरै इच्छा चाहना विद्युत, सडक साथै खानेपानी छ । त्यस मध्ये विद्युतको लागि हाम्रो वडालाई केन्द्रीय लाइनले छोएको छैन, हाइड्रोपावरहरु छैनन् । यो योजना पनि भर्खरै पहलमा छ । जिल्ला विद्युत प्राधिकरणबाट ठेक्का लागेको छ । त्यसबाट केहीलाई यस पटक विद्युतको सेवा प्रवाह गरिने भएको छ । सडकहरु जीर्ण अवस्थामा छन् । सडकहरुलाई मर्मत सम्भारको लागि धेरै रकम बजेट चाहिएको हुनाले हामीले वडाबाट यस्ता दीर्घकालिन लक्ष्यका ठूलाठूला योजनाहरु सम्बोधन गर्न नसकिएको अवस्था छ । यसका साथै सामाजिक समस्याहरु प्नि आउने गर्छन् । म आफै पनि न्यायिक समिति भएको हुनाले गाउँ पालिका भरि हेर्नु पर्ने हुन्छ । वडामा पनि सामान्य रुपमा कुटपिट, झै–झगडा आउने गरेका छन् । श्रीमान श्रीमती बीच सम्बन्ध विच्छेद गर्ने सम्मका समस्या हरु आउने गर्छन् । तर त्यसरी त्यता तिर प्ररित नगरी उनीहरुलाई मिलाउने तर्फ नै प्रयास गरियो र मिलेर बसिरहेको अवस्था छ ।

चुनावी घोषणा पत्रमा प्रतिवद्धता गर्नु भएको विकास निर्माणका योजनाहरुलाई कत्तिको सम्पन्न गर्नु भएको छ ?

जतिपनि उल्लेख गरिएको योजनाहरु मध्ये केही सम्पन्न नहोला तर त्यो भन्दा अन्य चाँही यो आर्थिक वर्षमा सम्पन्न हुने अवस्थामा छ ।

हतुवागढीको ७ नम्बर वडालाई थप विकास गर्न के के गर्नु पर्ला ?

विस्तृत रुपमा वडाको विकासको लागि निकै चुनौती छ । त्यति हुँदाहुँदै पनि विभिन्न समस्याहरुलाई समाधान गर्नको निम्ति सरकारले राम्रै खालको दीर्घकालिन योजना ल्यायो भने सम्भव छ । म चाहन्छु यस वडाका प्रत्येक टोल बस्तीहरुमा हिउँद बर्खै सञ्चालनमा आउन सक्ने मोटरबाटोहरु होस्, जुनसुकै समयमा यहाँको वडाबासीहरु बिरामी परेमा अस्पताल सम्म जानको लागि बाटोहरु सुदृढ हुन पर्यो । प्रत्येक घरमा, जनताको पहुुँचमा विद्युत पुर्याउने लक्ष्य छ र अन्य कुराहरु थुपै छन् । सरकारबाट वितरण गरिने विभिन्न किसिमका अनुदानहरुले गर्दा जनताहरुमा अल्छिपन बढेको हाकी भन्ने महसुस भएको छ, अनुदान सबैलाई दिएर पुग्ने न सँधैलाई पुग्ने, त्यसको लागि “माछा खान मात्रै सिकाउने हो या माछा मार्न पनि सिकाउने” भन्ने योजना सरकारबाटै भएमा देश समृद्धीको यात्रामा लम्किने छ । प्रत्येक जनता आत्मनिर्भर हुने खालको दीर्घकालिन लक्ष्य सरकारबाट आयो भने हामीले पनि विकास गर्न सक्छौं ।

महिला, बालबालिका तथा युवाहरुका लागि के कस्ता योजनाहरु छनोट गर्नु भएको छ ?

यस वडाका युवाहरु अहिले दुःख गरेर भलिबल खेलिरहेको अवस्था छ । त्यसको निम्ति यस वडामा दुई–दुई टोलको बीचमा पर्ने गरि ३ ओटा खेल मैदान निर्माण कार्य तत्काल सुरु हुदैछ । त्यसमा खेलकुदका विभिन्न क्रियाकलाप सञ्चालन गर्नको लागि समेत बजेट विनियोजन गरिएको छ । मैले चुनावी घोषणा पत्रमा उल्लेख गरेको योजनाहरु मध्ये एउटा फुटबल ग्राउण्ड भन्ने थियो । त्यसका लागि वडाबाट विनियोजन गरेको रकमले जग्गा खरिद गर्न नपाउने भएको हुनाले जग्गा अभावका कारण यही एउटा योजना पुरा होला जस्तो छैन । महिला तथा बालबालिकाहरुका लागि विभिन्न सिप विकासका क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

पहिले र अहिलेको विकासमा के फरक पाउन सकिन्छ ?

पहिला भन्दा अहिले केही विकास भएकै हो । तर जति हुनु पर्ने विकास, जनताले पाउनु पर्ने सुविधा हालको वर्तमान परिपेक्षमा भएको छैन । केही सुधार चाँही भएको हो तर विकासको छलाङ्क मार्न सकिएको छैन ।

यस वडाको आगामी योजनाहरु के के रहेका छन् ?

आगामी योजना अन्तर्गत पहिलो प्राथमिकताका साथ विद्युतको योजना राखिएको छ । त्यसका साथै खानेपानी र सडकहरु विस्तार लगाएतका योजनाहरु रहेका छन् । यही आर्थिक वर्ष भित्रमा वडाकार्यलयको भवन निर्माण सम्पन्न गरिने छ । त्यसको लागि धमाधम निर्माणको तयारी भै रहेको छ ।

अन्त्यमा सम्पूर्ण वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

मैले आज सम्मका दिनहरुमा जेजति विकासको निम्ति र यस वडाको सेवाको लागि विगत जनप्रतिनिधि हुनुभन्दा अगाडी देखि नै लागि परेको छु । हाल सम्म पनि आफ्नो सम्पूर्ण समय वडाको विकास र समृद्धीका निम्ति व्यतित गरिरहेको छु । हुनसक्छ सोचेअनुरुप विकासका कामहरु नभए तापनि निरन्तर रुपमा आफ्नो समय लगाइ राखेको छु । यस वडाबासीहरुले पनि त्यस्तो कुनै किसिमको नयाँ योजनाहरु छन् भने मलाई कार्यलयमा आएर सुझाव सल्लाह दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, साथै यस वडाको निम्ति हर प्रयास विकास र समृद्धीको निम्ति लागि पर्नेछु भन्दै सम्पूर्ण वडाबासीहरुमा किरात राईहरुको उधौली पर्वको शुभकामना समेत व्यक्त गर्न चाहन्छु ।