‘हतुवागढी ४ का सबै घरमा बिजुली पुर्याउने तयारी छ’

Newslaya Home

‘हतुवागढी ४ का सबै घरमा बिजुली पुर्याउने तयारी छ’

आइतबार १२, पुष २०७७

भोजपुरको हतुवागढी गाउँपालिकाको ४ नम्बर वडा ग्रामिण क्षेत्र भएको कारण पनि अपेक्षा गरेअनुसार विकास गर्न सहज नभएको वडाका अध्यक्ष चन्द्र बहादुर बिष्ट बताउनु हुन्छ । वडाको समग्र विकास र चुनौती लगायतको विषयमा वडाध्यक्ष विष्ट सँग न्युजलयका लागि अर्जुन राईले गरेको कुराकानीः
आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि वडाको योजनाहरुको स्टामेट गराउँदै सम्झौता गर्ने र भएका कामहरुको अनुगमन गर्ने कार्यहरुमा व्यस्त रहेको छु ।

वडाको विकासको अवस्था कस्तो छ ?
विकास निर्माणका कामहरुमा हामीले भ्याए सम्म गरिरहेका छौं । अघिल्ला समय भन्दा केही सुधार भई रहेको छ ।

सुरुवाती दिनहरुबाट आजसम्म के–कस्ता कामहरु सम्पन्न भए ?
सुरुवाती दिन देखि नै विकास निर्माणका कामहरुमा लागि परेका छौं । त्यसमा पनि सडक, खानेपानी तथा शिक्षा क्षेत्रमा विशेष जोड दिएका छौं । अहिले वडा नम्बर ४ को लागि बिजुली विस्तार कार्यमा तिव्र रुपमा लागिरहेका छौं । हालसालै पनि केही विद्युतका सामाग्री ल्याएका छौं । जे होस् त्यसमै निरन्तरता छ ।

वडाको बिकासको लागि कुन पक्षलाई प्राथमिकता दिनुहुन्छ ?
जुन ठाउँ पिछडीएको अवस्था छ त्यसलाई प्राथमिकता दिने गरेका छौं ।

वडामा यो पटकको बजेट केमा लक्षित गर्नु भएको छ ?
यो पटकको बजेट सबै क्षेत्रमा लक्षित गरिएको छ । जेष्ठ, दलित, अपाङ्ग, जनजाती, सडक बिस्तार, भवन निर्माण लगाएतका क्षेत्रमा लक्षित गरिएको छ । त्यसका साथै खानेपानी, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पनि लगानी गरेका छौं ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको अवस्था छ, यसमा स्थानीय प्रशासन साथै जनप्रतिनिधिहरुको भूमिका कस्तो रह्यो ?
वडामा आवश्यक र सक्दो कोशिस गर्यौ । वडाको पहलमा देश विदेशमा समस्यामा परेका वडाबासीहरुलाई त्यहाँबाट भोजपुरको जरायोटार सम्म ल्याउने, भारत देखि आउन लागेकाहरुलाई काकडभिट्टा देखि ल्याउने जस्ता कार्यहरु गरियो ।

वडामा के–कस्ता समस्याहरु रहेका छन् ?
विकासका समस्याहरु धेरै नै रहेका छन् । हाम्रो ४ नम्बर वडामा अझै पनि सडक विस्तार भैसकेका छैनन् । सबै जनताको गाउँसम्म पुर्याउन सकिएको छैन । तथापी सबै क्षेत्रको विकासमा हाम्रो निरन्तरता रहेकै छ ।

वडाबासीहरु के–कस्ता समस्याहरु लिएर आउने गर्छन् ?
उहाँहरुले हरेक प्रकारका समस्याहरु ल्याउने गर्नु हुन्छ । खानेपानी, सडक साथै विद्युतको पर्याप्त सुविधा भएमा हामीलाई हुन्छ भन्ने उहाँहरुको अपेक्षा छ । त्यसका साथै झै–झगडा, विभिन्न मुद्दा मामिलाका विषयहरु ऋाउने गरेका छन् । हामीले कतिपय समस्याहरुलाई गाउँ सम्म पुगेर समाधान गर्ने गरेका छौं । वडा सम्म आएका समस्यालाई वडामै गर्ने र वडामा नआइ कन भएका समस्याहरुलाई प्रहरी चौकी सम्म पुगेर भए पनि समाधान गर्ने काम गरिरहेका छौं ।

चुनावी घोषणा पत्रमा प्रतिवद्धता गर्नु भएको योजनाहरु कत्तिको सम्पन्न गर्नु भएको छ ?
केही बाँकी नै रहेका छन्, धेरै जसो योजनाहरु सम्पन्न गरिसकेका छौं । त्यसका लागि बाँकी समय र आफ्नो कार्यकालमा सम्पन्न गर्ने योजना छ ।

हतुवागढीको ४ नम्बर वडालाई थप विकास गर्नको लागि के के गर्नु पर्ला ?
यहाँ पूर्ण रुपमा विद्युतको सेवा पुर्याउनु पर्छ । वडाको सम्पूर्ण टोलहरुमा खानेपानीको सुविधा हुनु पर्छ, त्यसका लागि एउटा टोल बाहेका सबै ठाउँहरुमा खानेपानीको सुविधा पुगिसकेको छ । विद्युत भर्खरै सुरुवात हुँदैछ । त्यसको लागि विद्युत प्राधिकरण सम्म पहल गरेको छु । साविकको एक वडामा बिजुली बाल्न थालिएको छ । मेरो कार्यकालमा सबैलाई पुरा गर्ने योजनामा लागेको छु ।

महिला, बालबालिका तथा युवाहरुको लागि के कस्ता योजनाको छनोट गर्नु भएको छ ?
महिला लक्षित विभिन्न सिप विकास, क्षमता विकासका योजनाहरु छनोट गरिएको छ । बालबालिका, वृद्धवृद्धा, दलित, अपाङ्गहरुका लागि पनि योजना छनोट गर्दै आएका छौं । त्यसका साथै युवाहरुको लागि खेलकुदमा बजेट विनियोजन गरिएको छ ।

पहिले र अहिलेको विकासको अवस्थालाई कसरी अनुमान गर्न सकिन्छ ?
पहिले र अहिलेको विकासमा धेरै फरक छ । किनभने पहिला अधिकांश जनताहरुले विकासका लागि आएको बजेट कहाँ कसरी खर्च हुन्थ्यो भन्ने जानकारी नै पाउँदैन थिए, तर अहिल भने प्रत्यक्ष जनताहरुका माझमा गएर योजना छनोट गर्ने गरिन्छ ।

यस वडाको आगामी योजनाहरु के–कस्ता रहेका छन् ?
आगामी योजना अन्तर्गत सडक, खानेपानी, बिजुलीको सुविधा, शिक्षामा सुधार तथा शैक्षिक गुणस्तरमा विकास, कृषि क्षेत्रमा थप विकासका योजनाहरु रहेका छन् । समय छोटो छ, जति सकिन्छ आगामी दिनमा सम्पूर्ण योजना पुरा गर्ने कोशिसमा छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण वडाबासीहरुमा के भन्न चाहन्छु भने हाम्रो क्षेत्रमा पनि क्रमश बिकासको लहर आईरहेको अवस्था छ । सकेसम्म जनताले दुःख नपाओस् भन्ने नै हो तर ग्रामिण क्षेत्र भएको कारण पनि दुःख त हुन्छ नै । तर बिकासमा ४ नम्बर वडा पछाडी नपरोस्, सम्पूर्ण वडाबासीहरुलाई सुखी राख्न पाइयोस् भन्ने चाहना छ ।