शिक्षा मन्त्रीद्वारा इटहरीस्थित नरबहादुर कर्माचार्य स्मृतिको उद्घाटन

Newslaya Home

शिक्षा मन्त्रीद्वारा इटहरीस्थित नरबहादुर कर्माचार्य स्मृतिको उद्घाटन

शुक्रबार १९, मङि्सर २०७७

इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज (शुक्रबार) इटहरीमा रहेको नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विपन्न वर्गलाई प्राविधिक शिक्षा दिएर दक्ष बनाउन सरकार लागि परेको बताए ।

मन्त्री पोखरेलले विपन्न समुदायलाई प्राविधिक शिक्षासँग जोडेर गरिबीलाई सुन्यमा झार्ने सरकारको लक्ष्य रहेको पनि जानकारी दिए । उनले जिवनको आवश्यकतासँग जोडेर प्राविधिक शिक्षा दिने अभियान स्थानीय तहदेखि नै सुरु गरिएको पनि प्रष्ट पारे ।

प्राविधिक शिक्षाले विद्यार्थीलाई उत्पादनसँग जोड्ने हुनाले स्थानीय तहदेखि नै प्राविधिक शिक्षाको आवश्यकता रहेको मन्त्री पोखरेलको भनाई थियो ।
उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले प्रतिष्ठानहरुलाई देखाएर प्राविधिक शिक्षाको व्यापार गर्ने थलो नबनाउनसमेत चेतावनी दिए । उनले प्राविधिक शिक्षालाई सर्वसुलभ बनाउनु पर्ने कुरामा समेत जोड दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्राविधिक जनशक्ति जति उत्पादन गरे पनि त्यस्तो जनशक्ति अझै बेरोजगार हुनु परेकोप्रति चिन्ता व्यक्त गरे । प्रदेश १ र २ का प्राविधिक शिक्षा विज्ञहरुको ठुलै जमघट भएको कार्यक्रममा प्राविधिक जनशक्तिलाई कसरी रोजगार दिन सकिन्छ भन्ने सुझाव समेत मन्त्री घिमिरेले मागे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पार्टीका सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले प्राविधिक शिक्षालयहरुको बीचमा संचालनमा आएको नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले भिन्न पहिचान दिन सक्नुपर्ने बताए । प्रतिष्ठानका अध्यक्षसमेत रहेका निर्मल बरालले प्राविधिक शिक्षालयको अनुमति दिएकोमा सरकारलाई धन्यवाद व्यक्त गरे । सो शिक्षालय नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीद्वारा संचालनमा ल्याइएको शिक्षालय प्रमुख अर्जुन उप्रेतीले बताए ।