झापामा एल.पी ग्यास भण्डारण परियोजना कार्य सुरु

Newslaya Home

झापामा एल.पी ग्यास भण्डारण परियोजना कार्य सुरु

शुक्रबार १९, मङि्सर २०७७

काठमाडौं । नेपाल आयल निगमले सिलिगुरी–झापा पेट्रोलियम पाईपलाइन परियोजना तथा एल.पी.जी भण्डारण परियोजना कार्य सुरु गरेको छ । निगमले बोटलिङ प्लाण्ट निर्माण गर्न प्रदेश नंं.१ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण परियोजनाको कार्य सुरु गरेको हो ।

यसअन्तर्गत निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुडीबाट झापा पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको जनाइएको छ । यस अन्तर्गतको पाइपलाइन सर्भे कार्य निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त रुपमा सम्पन्न भइसकेको छ । संयुक्त सर्भे टोलीले पहिचान गरेका स्टकमध्ये उपयुक्त रुटको एकिन गर्ने कार्य निगमको प्राविधिक टोलीले सम्पन्न गरेको प्रवक्ता विनित मणी उपाध्यायले जनाएका छन् ।

यस्तै सोही लागतमा निर्माण हुने करिब ४ हजार मेट्रिक टनको एल.पी. ग्यास भण्डारण तथा एल.पी.ग्यास बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तराष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र सो परामर्शदाताबाट कार्य सुरु भइसकेको पनि निगमले जनाएको छ । यसैगरी भद्रपुर विमानस्थलमा निगमको लागि रिफ्युलिङ सेवा वैज्ञानिक र प्रभावकारी बनाउन नसक्दा भइरहेको असहजतालाई निवारण गर्न निगमकोे साना एभिएसन परियोजना अन्तर्गत अत्याधुनिक प्रविधियूक्त ६० हजार लिटर क्षमताको दुईवटा भण्डारणयुक्त ट्याङ्कमार्फत रिफ्युलिङ गर्ने पद्धतिको निर्माण कार्य सुरु भएको पनि जनाएको छ ।

यी सबै परियोजनाको सञ्चालन तथा कार्यक्रम निरीक्षण संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सदस्यहरु भिमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृता देवी अग्रहरीले गरेका छन् ।