उपमेयरलाई गाडीभित्रै जलाउने प्रयास

Newslaya Home

उपमेयरलाई गाडीभित्रै जलाउने प्रयास

बिहीबार १८, मङि्सर २०७७

झापा। मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले आफूलाई गाडीभित्रै जलाउने प्रयास गरिएको आरोप लगाएकी छिन् । आफू चढेको मे १ झ १७२ नंं. को गाडीलाई एक समूहले रोकेर जलाउने प्रयास गरेको उनले बताएकी छिन् ।

दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताउँदै बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिइन् ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर कार्यालयतर्फ फर्किरहेको बेला दिउँसो ३ बजेतिर राजमार्गमै बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

जलाउने प्रयास भएपछि गाडी हुइँक्याइएको थियो । घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।