चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

उदयपुर । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय तोकिएको छ ।
जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको हो।
यस्तै सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।
विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो ।