उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षमा शेखर गोल्छा

Newslaya Home

उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षमा शेखर गोल्छा

आइतबार १४, मङि्सर २०७७

काठमाडौं । उद्योगी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्ष बनेका छन्।

संघीय राजधानी काठमाडौंमा दुई दिनसम्म चलेको ५४औं साधारणसभा र निर्वाचन सम्पन्न भएपछि गोल्छा महासंघको अध्यक्ष बनेका हुन्।

वर्तमान अध्यक्ष भवाणी राणाले महासंघको नेतृत्व सुम्पेपछि देशको सबैभन्दा ठूलो निजी क्षेत्रको छाता संगठनको नेतृत्व गोल्छाको काँधमा आएको हो।

महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार गोल्छा १९औं अध्यक्ष बनेका हुन्।

देशकै सबैभन्दा ठूलो निजी क्षेत्रको छाता संगठनको अध्यक्षको कार्यकाल सम्हालेका गोल्छा साढे तीन वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।

वि.सं. २०७३ सालको चैत्रमा भएको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानलाई पराजित गर्दै भावी नेतृत्वका रूपमा चुनिएका थिए।

निवर्तमान अध्यक्ष राणा वि.सं. २०७३ साल चैत्र ३० गते महासंघको १८औं अध्यक्ष बनेकी थिइन्। राणा महासंघको ५४ वर्षीय इतिहासमा पहिलो महिला अध्यक्षसमेत हुन्।

राणा निर्धारित समयभन्दा आठ महिनापछिसम्म महासंघको नेतृत्वमा रहिन् भने गोल्छा निर्धारित समयभन्दा आठ महिना ढिलो गरी नेतृत्वमा आएका छन्।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चैत्रमा तोकिएको महासंघको साधारणसभा रोकिँदा राणाले यस्तो अवसर पाएकी हुन्।