काँकरभिट्टामा व्यवसायीहरुले गरे मौन जुलुस

Newslaya Home

काँकरभिट्टामा व्यवसायीहरुले गरे मौन जुलुस

बुधबार १०, मङि्सर २०७७

काँकरभिट्टा । झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं बुधाबार झापाको मेचीनगरमा विभिन्न व्यवसायीहरुले मौन जुलुस गरेका छन् ।

होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना गरेको मौन जुलुसमा स्वतःस्फूतरुपमा विभिन्न व्यवसायीहरु समेत सहभागी थिए ।

काँकरभिट्टा बसपार्कबाट दिउँसो २ बजे व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, बन्द नाका खुला गर, उपेक्षित नाकाबन्दी चाहिन्दैंन, होल्डिङ्ग सेन्टरमा गाडी बुक गर्ने कार्य तत्काल बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डसहितको जुलुसले पुरानो गाविस रोड, गुरासपथ, शान्ति मार्ग, पुरानो सुपारी लाईन, बाहुनडाँगी रोड, भट्टराई चोक पूर्व प्रगति टोललगायतको परिक्रमा गरेको थियो ।

जुलुसमा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवा, सुन चाँदी व्यवसायी संघका अध्यक्ष राजेश गहतराजलगायत अन्य व्यवसायमा सम्बद्घ व्यवसायीहरुको सहभागिता रहेको थियो ।