आईसीसी अवार्डको मनोनयनमा परे पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन्। आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानित गर्न विभिन्न विधामा खेलाडीको मनोनयन गरेको छ।
एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन परेका छन्।
पारसले नेपाललाई डिभिजन पाँचदेखि एकदिवसीय मान्यतासम्म पुर्याउन कप्तानको भूमिका निर्वाह गरेका थिए। उनको कप्तानीमा नेपालले पहिलो पटक सन् २०१४ मा टीट्वेन्टी विश्वकप खेलेको थियो।
आईसीसीले एक दशकको अवधिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न स्पिरिट अफ क्रिकेट, आईसीसी एसोसियट क्रिकेटर, आईसीसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, एकदिवसीय पुरुष र महिला क्रिकेटर, टेस्ट क्रिकेटरलगायत विधाको मनोनयन सार्वजनिक गरेको छ।
आईसीसी पुरुष प्लेयर अफ दी डिकेटमा भारतका विराट कोहली, रविचन्द्रन अश्विन, इङ्ल्यान्डका जोय रुट, न्युजिल्यान्डका केन विलियम्सन, दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, अस्ट्रेलियाका स्टिभ स्मिथ र श्रीलंकाका कुमार संगाकारा मनोनयनमा परेका छन्।