राज्यलाई कर तिर्छु, तर ज्वरो र पखाला लाग्दा पनि उपचार पाइनँ

Newslaya Home

राज्यलाई कर तिर्छु, तर ज्वरो र पखाला लाग्दा पनि उपचार पाइनँ

- शान्ति गज्मेर
मङ्गलबार ०९, मङि्सर २०७७

मंसिर २ गते बेलुका सुत्नलाई ओछ्यान भित्र पसें एक्कासी आनन्दको र बेस्सरी जिउदुखाइसंगै जाडो भयो। छोरालाई हटब्यागमा तातोपानी लेउन लाएर सेक्न थालें हनहन्ती ज्वरो आयो । चार वटा सिरकले पनि न्यानो भएन । १०२ डिग्री ज्वरो आएछ । छोराले पानीपट्टी गरिदियो कम भएन । संगै पातलो दिशा लाग्न थाल्यो १२ बजे रातिदेखी ट्वाइलेट यात्रा ननस्टप शुरु भयो।

आमाको स्वास्थ्य अवस्था झन गम्भीर होला जस्तो भएसी राती १ बजे छोराले अस्पताल गएर औसधि किनेर ल्याएछ। पारासिटामोल डबल खाएसी एकछिन् ज्वरो कम भयो फेरि उस्तै । रातभरीमा २०÷२२ पटक पाखला लागिरह्यो ।

बिहान भएसी छोराले अस्पताल जाउँ भन्यो । ज्वरो पनि भएकोले अस्पतालले लिन्छ लिदैन भनेर संधै जाने र चिनजानको अस्पतालहरुमा बुझ्न पठाएं सबैले नआउनु कोभिड अस्पताल जानू भनेर पठाएछन् । बाबु निरास भएर आयो । भित्रभित्रै आँसु बगाएको मेरो छोराको अँध्यारो अनुहार देखेर मुटु भ्क्कानिएर आयो ।

आफैं औषधिको नाम लेखेर औषधि लिन पठाएं । त्यो दिन अर्थात ३ गते औषधि खाएं कम हुने कुरै छैन । दिनभरी रातभरी ज्वरो र पखाला झन्झन बढ्ला जस्तो भो ननस्टप चलिरह्यो । भोलिपल्ट ४ गते कमजोर भएर खुट्टा टेक्न गार्हो हुन थाल्यो मन अत्तालिन थाल्यो । मुखबाट खाएर नहुनेभो अब नसाबाटै चढाउनुपर्ला जस्तो भो । चिनेका अस्पताल र डाक्टरले अस्पताल जान नदिएनी कुनै स्टाफ घरमा पठाइदिए सम्म गरिदिए औषधि आफै लगाउथे र म बाँच्ने थिए जस्तो भयो । छोरालाई फेरि अस्पताल पठाएं कहिबाट कोहि आउन मानेनन् । अब चाहिँ बाँचिएला भन्ने लागेन । परिवारमा आफुबाहेक स्वास्थ्यकर्मी कोहि छैन । आफन्तहरु यस्तो बेला नआउलान भन्ने लाग्यो एक दुइ जना बहिनी थिए सम्झिएं मात्र बोलाउन मन लागेन अस्पताल सम्झिएं । उनिहरुलाइ किन अफ्ठ्यारो पारौं जस्तो भो ।

छोराले एक्कासी कान्छी माइजुलाई सम्झियो माइतमा थिइन् आउन नसक्ने गरि रुघाले सताएको रहेछ । छोरा रोयो ।

शरिरले थेग्न सकुन्जेल सहन्छु भन्दै औषधि खाँदै बसे अब बोल्न नसक्ने सम्म भए । इन्तुचिन्तु हुँदै प्राण थामिदै थियो । यो चेतनामा दिपेन चाम्लिङ भाइको नाम याद आयो छोरालाई बबु दिपेन मामालाई फोन गर भने । आधा घन्टाभित्र भाइ आइपुग्नु भयो । बिपि र नाडिको गति सुनिएन रे । म तुरुन्तै आए भनेर निस्किनुभो । तुरुन्तै औसधिहरु लिएर आउनुभो खाए । २÷३ घन्टा बिचार गरौं कम भएन भने कल गर्नु भन्नुभयो । २ घन्टा सम्म झन गार्हो भएसी बाबुले बोलायो भाइले स्वास्थ्यकर्मी साथी र औसधिको झोलासंगै लिएर आउनुभो । त्यतिबेला नाडिको गति भेटिएन रे बिपि ७०÷५० सुनिएछ ।

हातमा क्यानोला सेट गरेर नसाबाट औषधि चलाइयो । औषधि लगाएको १ घन्टामा अलिकती सजिलो महसुस भयो । तर ज्वरो पनि घटेन डाइरिया त झन के घट्थ्यो । राती सम्ममा शरिरमा कताकता केही प्रगती होला बाँच्न चाहिँ बाँच्छु होला जस्तो भो । अब आफै इन्जेक्सन लाउन औषधि चढाउन सक्ने भए । ३ दिनपछी ज्वरो रोकियो डाइरिया रोकिएन । शरिरबाट निस्किने चिज केही बाँकी नभएपछी शरिरको भित्री अंगहरु सबै बटारिएर एकैपटक निस्केला जस्तो गरि पेट भित्र बाहिर कम्मर ढाड सहनै नसक्नेगरी दुख्यो ।

पेनकिलरले नि काम गरेन । ५ दिनको दिन दुखाई कम होला शरिरमा अलिकती जाति होला जस्तो भो । उठेर आफै खाना खाने भयो । यो उमेरमा आमाले सुताएर पातलो जाउलो चम्चाले खुवाइदिंदा आमालाई कति दुःख दिए जस्तो हुन्थ्यो । आमा र छोराको अनुहार देखेर अझै धेरै बाँच्ने रहर जाग्यो । यसपटक बाँचिएला जस्तो लागेको थिएन । तर बाँचियो ।

म यो देशको नागरिकता प्राप्त नागरिक हुँ । बार्षिक रुपमा राज्यलाई कर तिर्छु। निमुखा जनताको सेवा गर्छु । ज्वरो र डाइरिया हुँदा यति कस्ट खप्नुपर्यो ।
संसारमा कहिं छैन र कोरोनाको माहामारी ? सबै बिरामी कोरोना संक्रमित नै हुन्छन ? संक्रमित नै भएनी संक्रमितको जीवन रक्षाको उचित ब्यबस्थापन खै ? मानवअधिकारबादी देश होइन यो ? राज्यको नागरिकको स्वास्थ्य सम्बन्धी नीति खै ? बिरामिको स्वास्थ्य उपचार गर्न पाउने संविधानमा व्यवस्था भएको स्वास्थ्य अधिकारको ब्यबस्थापन कार्यान्वयन काहाँ छ ? मैले मेरो उपचार गर्न नपाएको अस्पतालको मात्र दोष देखिन । यो देशको नितिगत ब्यबस्था ।

राज्यसंचालकको नैतिकता र व्यवस्था प्रति हजार प्रश्न र दोशहरु देक्छु । मैले आस्था राखेको मलाई मनपरेका नेतृत्वहरुले संचालन गरेको देशको यो अवस्था देखेर मलाई धिक्कार्न मन लाग्यो । मेरो मनै देखि देश प्रती घृणा पलाएको छ । मलाई यो देशको नागरिक हुनुमा दुःख लागेको छ आज । किनकी मैले त्यसैपनी म र मेरो समुदाय सामाजिक रुपमा यो देशको दोस्रो दर्जाको नागरिक थियौं । अहिले म भन्दा गरिब म भन्दा कमजोर ती बहुसंख्यक मानिसहरुलाई सम्झिएर आफू र उनिहरुलाई यो राज्यबिहिन नागरिक हुं भन्ने महसुस गरिरहेको छु ।

दिपेन भाइ र एलिना फार्मेसी कान्छी चोक प्रती लाख लाख आभार प्रकट गर्दछु ।