विश्व टेलिभिजन दिवसको अवसरमा बराहक्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Newslaya Home

विश्व टेलिभिजन दिवसको अवसरमा बराहक्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शनिबार ०६, मङि्सर २०७७

बराहक्षेत्र । विश्व टेलिभिजन दिवसको अवसरमा आज (शनिबार) सुनसरीको बराहक्षेत्रमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । काष्ठमण्डप टेलिभिजनको प्रदेश १ कार्यालयले शुभकामना आदानप्रदान गरी बराहक्षेत्रमा विश्व टेलिभिजन दिवस मनाएको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले कोरोना भाइरसको महामारीका बेला पनि पत्रकारहरु अग्रपंक्तिमा रहेर काम गरिरहेको बताएका छन् । खड्काले पत्रकारले हरेक सुचनाहरु जनतासमक्ष ल्याउनका लागि कुनैपनि प्रवाह नराखी काम गरिरहेको बताए । उनले टेलिभिजन पत्रकारिता चुनौति भएपनि यसमा डटेर लाग्न काष्ठमण्डप टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई आग्रह समेत गरे ।

२०४१ साल माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएसँगै नेपालमा अहिले दुई दर्जनबढी टेलिभिजनहरु प्रशारणमा रहेको खड्काले जानकारी गराए । कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी टेलिभिजनमा भिज्वल चाहिने हुँदा अझ पत्रकार बढी सक्रिय हुनुपर्ने बताए । साथै उनले पत्रकारहरुले कुनै पनि लोभलालचमा नपरी स्वच्छ पत्रकारिता गर्नुपर्ने बताए ।

त्यस्तै प्रेस संगठन बराहक्षेत्रका संयोजक अच्युत भट्टराईले पत्रकारले आफ्नो धर्म निर्वाह गरेर काम गर्नुपर्ने बताएका छन् । उनले भने, ‘पत्रकारितामा कुनै जात धर्म नहुने भएकाले पत्रकारितामा विशुद्ध स्वतन्त्ररुपमा काम गर्नुपर्ने हुन्छ ।’

त्यस्तै १ नम्बर प्रदेश पार्षद बाबुराम कार्कीले पार्टी भन्दा माथि उठेर सबैले पत्रकारिताको आचारसंहिता अनुसार काम गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बराहक्षेत्र प्रेस युनियनका अध्यक्ष संगम विष्ट, ग्रामिण पत्रकार समूह बराहक्षेका उपाध्यक्ष सन्तोष गुप्ताले समेत सुभकामना दिएका थिए । बराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत विरेन्द्र यादवले समेत सुभकामना दिएका थिए । उनले स्थानिय पत्रकारहरुलाई सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

काष्ठमण्डप टेलिभिजन १ नम्बर प्रदेश ब्युरो प्रमुख निश्चल बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।